६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

अमेरिका–चीन तनाव घटाउने प्रयास




बीके नेवा


अमेरिका र चीनबीचको तनावपूर्ण सम्बन्धलाई स्थिर बनाउने प्रयास गरिएको छ । पाँच वर्षपछि पहिलो पटक अमेरिकी विदेशमन्त्रीको दुई दिवसीय चीन भ्रमणमा यस्तो प्रयास भएको हो ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुभयो जसलाई दुई प्रतिद्वन्द्वी महाशक्तिहरुबीच उच्च तहको संवाद पुनः सुरु भएको कडीका रूपमा हेरिएको छ ।
राष्ट्रपति सीले भेटवार्तामा केही प्रगति भएको बताउनुभयो भने विदेशमन्त्री ब्लिङ्कनले दुवै पक्ष थप संवादका लागि खुला रहेको जानकारी दिनुभयो । तर वरिष्ठ अमेरिकी कूटनीतिज्ञले दुवै पक्षबीच कैयौँ फरकपन रहेको खुलासा गर्नुभयो । उहाँले भन्नुभयो, “मैले जोड दिएँ कि उच्च तहमा दिगो किसिमको संवाद विमतिहरूको व्यवस्थापन गर्ने र प्रतिस्पर्धा द्वन्द्वतर्फ नजाओस् भन्ने सुनिश्चित गर्ने सबैभन्दा उपयुक्त माध्यम हो ।”

बीके नेवा

तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पालमा अमेरिका र चीनबीच व्यापार युद्ध सुरु भयो । ट्रम्पकालीन व्यापार युद्धसहितका कारणले चिसिएको बेइजिङ र वासिङ्टनबीचको सम्बन्ध चीनले ताइवानमाथि आक्रामक रूपमा व्यक्त गरेका दाबी र अमेरिकी आकाशमा देखिएको चिनियाँ गुप्तचर बेलुन खसालिएपछि अझ पेचिलो बनेको हो ।
विदेशमन्त्री ब्लिङ्कनले आफ्ना चिनियाँ समकक्षी किन गांगसँग पनि खुलस्त कुराकानी गर्नुभयो । ब्लिङ्कनले कूटनीति र संवादका ढोकाहरू खुला राख्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । अमेरिकी आकासमा चिनियाँ जासुसी बेलुनको उडानपछि करिब पाँच महिनाअघि ब्लिङ्कनको भ्रमण स्थगित गरिएको थियो । अमेरिकी अधिकारीहरूले वार्ताको मुख्य लक्ष्य अत्यन्तै तनावपूर्ण भएको सम्बन्धलाई स्थिर बनाउनु रहेकोमा जोड दिए ।
चीनका विदेशमन्त्री किन गांगले ब्लिङ्कनलाई बेइजिङ अमेरिकासँग स्थिर र रचनात्मक सम्बन्ध स्थापित गर्न प्रतिबद्ध रहेको बताउनुभयो । अमेरिकी अधिकारीहरूले चाहिँ वार्तामा विदेशमन्त्री किनले आफू वासिङ्टन भ्रमणका लागि सहमत भएको बताउनुभयो ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार किनले चीन–अमेरिका सम्बन्धका लागि ताइवान मामिला सबैभन्दा प्रमुख जोखिम भएको र ताइवान मुद्दालाई चीनको मुख्य चासोका रूपमा वर्णन गर्नुभयो । चीनले स्वशासित ताइवानलाई उसैको टुक्रिएको प्रान्तको रूपमा हेर्छ र अन्ततः त्यो बेइजिङको नियन्त्रणमा हुनेछ भन्ने ठान्छ । तर ताइवानले आफूलाई चिनियाँ मुख्य भूमिभन्दा फरक ठान्छ ।
अमेरिकी राष्ट्रपति जोए बाइडेनले गत वर्ष चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताउनुभएको थियो त्यसलाई बेइजिङले निन्दा गरेको थियो ।
चिनियाँ विदेशमन्त्री किनले ब्लिङ्कनलाई विशेषगरी विदेशी पाहुनाहरूलाई स्वागत गरिने भव्य स्टेट गेस्ट हाउसमा स्वागत गर्नुभयो । त्यसपछि दुवैले आ–आफ्नो झण्डाको अगाडि उभिएर हात मिलाएपछि बैठक सुरु गर्न लामो टेबलमा प्रतिनिधिमण्डलसँग बस्नुभयो ।
हालैका वर्षहरूमा दुई महाशक्तिबीच विकसित भएको चिसो सम्बन्धलाई दर्शाउनेगरी भेटघाट नितान्त रूपमा औपचारिक जस्तो मात्र देखिन्थ्यो । अमेरिकाले यो भ्रमणबाट प्राप्त हुनसक्ने उपलब्धिका अपेक्षाहरूलाई घटाउँदै लगेको छ र दुवै पक्षले कुनै ठूलो सफलताको आशा नगरेको स्पष्ट पारेका छन् ।
युक्रेनमा जारी युद्ध, उन्नत कम्प्युटर प्रविधिलाई लिएर उत्पन्न व्यापार विवाद, चिनियाँ मानवअधिकार आचरणलगायतका विषयमा अमेरिकी अधिकारीहरुले कुरा गरे । चिनियाँ अधिकारीहरूले ब्लिङ्कनको भ्रमणप्रति सामान्य प्रतिक्रिया व्यक्त गर्दै अमेरिका सम्बन्ध सुधार गर्ने प्रयासमा इमानदार छ कि छैन भनेर प्रश्न उठाए ।
ब्लिङ्कनको यस पटकको भ्रमणको पहिलो र प्रमुख कुरा भनेकै अमेरिका र चीनबीच कुनै पनि प्रकारको कूटनीतिक अन्तर्क्रियालाई पुनः स्थापना गर्नु हो । गत महिना अस्ट्रियाको भियनामा वरिष्ठ अमेरिकी अधिकारी र चिनियाँ अधिकारीहरूबीच भएको भेटले त्यसको प्रारम्भिक थालनी गरेको थियो । ब्लिङ्कन चीन भ्रमण गर्ने बाइडेन प्रशासनका सबैभन्दा वरिष्ठ अधिकारी हुनुहुन्छ । अक्टोबर २०१८ पछि अमेरिकी विदेशमन्त्रीको यो पहिलो बेइजिङ भ्रमण हो ।
अमेरिका–चीन सम्बन्धबारे जानकार विज्ञहरू द्वन्द्वको जोखिमलाई कम गर्नका लागि दुई पक्षबीच प्रत्यक्ष कूटनीतिक संवाद हुनु जरुरी भएको ठान्छन् । विवादका बीच पनि ब्लिङ्कनको यो भ्रमणले त्यसको थालनी गरेको छ ।
राष्ट्रपति बाइडेनको कार्यकाल चीनसँगको असहज सम्बन्धसँगै सुरु भयो । त्यसको एउटा कारण उहाँले ट्रम्प प्रशासनले लागु गरेका व्यापार प्रतिबन्धहरूलाई हटाउने इच्छा नदेखाउनु पनि हो । त्यस्ता प्रतिबन्धका कारण चिनियाँ उत्पादनहरूले अमेरिकामा अर्बौं डलरको आयात शुल्क बेहोर्नु परेको छ । त्यसमा केही क्षेत्रमा बाइडेनले अझ कडा कदम चाल्नुभएको छ । उन्नत कम्प्युटर तथा इलेक्ट्रोनिक्स प्रविधिमा अमेरिकी दबदबा कायम राख्ने प्रयासमा चीनमा अमेरिकी कम्प्युटर–चिप निर्यातमा प्रतिबन्ध लगाइएको छ ।
त्यसको प्रतिक्रियामा चीनले सबैभन्दा ठूलो अमेरिकी चिप निर्माता माइक्रोनले बेच्ने कम्प्युटर मेमोरी चिप्समा आफैँले प्रतिबन्ध लगाइदिएको छ । ब्लिङ्कनको यो भ्रमणलाई अमेरिका र चीनबीच जारी यस्तो लडाइँलाई कम गर्ने एउटा महत्वपूर्ण पहलको रूपमा हेरे पनि अपेक्षित प्रगति भएन ।
सेमिकन्डक्टर चिपहरू त्यस्ता विद्युतीय उपकरण हुन्, जसले तथ्यांक भण्डारण र प्रशोधनको काम गर्छन् । यस्ता चिप बनाउन सिलिकनसहित इन्सुलेटरभन्दा बढी, तर धातुभन्दा कम बिजुली सञ्चालन गर्न सक्ने सामग्रीको पातलो टुक्रा प्रयोग गरिएको हुन्छ । यी चिप दूरसञ्चार, सैन्य प्रणाली, स्मार्टफोन, यातायात, स्वच्छ ऊर्जासहित आर्टिफिसियल इन्टेलिजेन्स र क्वान्टम कम्युटिङजस्ता उदाउँदा प्रविधिहरूका लागि नभई नहुने वस्तु हुन् । कोभिड महामारी सुरु भएपछि विश्वमै विद्युतीय उपकरणको प्रयोग ह्वात्तै बढेकाले सेमिकन्डक्टर चिपको पर्याप्त र समानुपातिक आपूर्ति हुन सकेन । यसले गर्दा विश्वमा चिप संकट आइपर्यो । सन् २०२२ देखि सुरु भएको आर्टिफिसियल इन्टेलिजेन्सको दौडले त जीपीयू नामक अत्यन्तै जटिल ग्राफिक्स र तथ्यांक प्रोसेस गर्न सक्ने चिपको माग थेगिनसक्नु बनाइदिएको छ । यसको प्रमुख उत्पादक एनभिडिया कम्पनीलाई विश्वका दस सबैभन्दा मूल्यवान कम्पनीको सूचीमा चढाएको छ ।
पछिल्लो समय विभिन्न देश र कम्पनीहरूले चिप उत्पादनमा व्यापक लगानी बढाएका छन् तर आपूर्तिको समस्या तुरुन्तै समाधान हुने अवस्था छैन । यो किनभने चिप बनाउने प्रक्रिया निकै जटिल र लामो हुने जानकारहरू बताउँछन् । सेमिकन्डक्टर चिपको आवश्यकता पर्ने थुप्रै कम्पनीहरूले सन् २०२२ भन्दाअघि नै अग्रिम खरिद सम्झौता गरिसकेका छन् । यस्तो सम्झौता सेमिकन्डक्टर निर्मातामध्ये विश्वकै सबैभन्दा ठूलो ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङको टीएसएम, दोस्रोमा इन्टेल कर्प, तेस्रो क्वालकम इंक, चौथो ब्रोडकम, पाँचौं माइक्रोन टेक्नोलोजी र छैटौं एनभिडिया कर्प लगायत कम्पनीहरूसँग भएका छन् ।
सन् २०२१ मा सेमिकन्डक्टरको बजार आकार ५२७.८८ अर्ब डलर बराबर थियो, जुन सन् २०२२ मा ५७३.४४ अर्ब हुँदै सन् २०२९ मा १३८०.७९ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । सन् २०२२ को आँकडाअनुसार, सेमिकन्डक्टर बजारमा ताइवानको हिस्सा २४.१, दक्षिण कोरियाको १८.३, चीनको १५.८, अमेरिकाको १२.५ र जापानको १०.१ प्रतिशत छ ।
सन् २०२३ को सुरुमा लगभग २ अर्बको संख्यामा स्मार्टफोन र झन्डै २४ करोड ल्यापटप प्रयोगमा रहेको र त्यो संख्या दिनानुदिन बढिरहेकाले सेमिकन्डक्टरको बजार विस्तार केही समय नरोकिने पक्का छ । क्लाउड कम्प्युटिङ तथा अनलाइन स्टोरेजप्रतिको बढ्दो निर्भरता, क्रिप्टोलगायत गेमिङ र भर्चुअल रियालिटीसम्बन्धी ग्याजेटप्रतिको आकर्षणले पनि यी विद्युतीय साधनप्रतिको उत्सुकता किन छ भन्ने प्रस्ट पार्छ । कोभिड–१९ ले बढाएको स्वास्थ्यसँग सम्बन्धित महँगा मेसिनहरूको खरिदले पनि सेमिकन्डक्टर बजारलाई नै फाइदा भयो । पछिल्ला दिनमा रुस–युक्रेन युद्धले बढाएको रक्षा र सैन्य सामग्री बजेटको महत्वपूर्ण फाइदा पनि चिप उद्योगीहरूकै पोल्टामा जाने लगभग निश्चित छ । सेमिकन्डक्टरको बजार किन पनि महत्वपूर्ण छ भने ताइवानलाई आफ्नै देशको एक हिस्सा मान्दै आएको चीनको नजर ताइवानले गरेको सेमिकन्डक्टरको प्रगतिमा पनि छ । सन् २०२१ मा सेमिकन्डक्टरबाट झन्डै १३५ अर्ब डलर आम्दानी गरेको ताइवानको बजार बढेर सन् २०२२ मा १५० अर्ब डलरमाथि पुगेको छ ।
यो ताइवानको कुल गार्हस्थ्य उत्पादनको १५ प्रतिशत हो । यही उद्योगले मात्रै ताइवानमा झन्डै ३ लाख व्यक्तिलाई रोजगारी दिएको छ । त्यस्तै दक्षिण कोरियाले सामसङ र एसके हाइनिक्सजस्ता कम्पनीमार्फत मेमोरी चिपको ६० र समग्र सेमिकन्डक्टरको १८.३ प्रतिशत बजार हिस्सा ओगट्ने गरेको छ । सन् २०२१ मा दक्षिण कोरियाले चिप उद्योगबाट १०० अर्ब आसपास र सन् २०२२ मा १२० अर्ब डलर आसपास आम्दानी गरेको बताइन्छ । दक्षिण कोरियाको चिप उद्योग कति ठूलो छ भने यसले लगभग ४ लाख जनालाई प्रत्यक्ष रोजगारी दिनुका साथै सन् २०२२ मा कुल निर्यातको १९ प्रतिशत हिस्सासमेत ओगटेको छ ।
चीनको अर्थतन्त्रमा झन्डै ५० अर्ब डलर आसपास योगदान गर्ने सेमिकन्डक्टर चिप क्षेत्रलाई सन् २०२५ सम्ममा १०० अर्ब डलर पुर्याउने चीनको योजना भएको चर्चित चिनियाँ व्यवसायी डिङ लेइको धारणा छ । उहाँले चिप युद्ध एउटा विशुद्ध व्यावसायिक प्रभुत्वको लडाइँ भएको र त्यसमार्फत विश्वव्यापी प्रभाव पार्ने अवसरमा चीन चुक्न नहुने दाबी गर्नुभयो । बजारको बढ्दो माग, मनग्गे आम्दानी, प्रविधिमाथिको प्रत्यक्ष नियन्त्रण र उल्लेख्य रोजगारीका कारण अमेरिका, चीन, युरोपेली संघ सेमिकन्डक्टरको विकास र उत्पादन तीव्र प्रतिस्पर्धा गरिरहेका छन् । यस मामिलामा चीनलाई पछि पार्न अमेरिकाले व्यापार युद्धपछि चिप युद्ध सुरु गरेको हो ।

अर्कोतर्फ बेलुन घटनापछि चीनले रुसलाई अस्त्र पठाउने विचार गरिरहेको र ती अस्त्रहरू तुरुन्तै युक्रेन विरुद्धको युद्धमा प्रयोग हुनसक्ने खबरहरू आएका थिए । युक्रेन–रुस द्वन्द्व अमेरिका र चीनबीचको छद्म युद्धमा परिणत हुनसक्ने र दुई राष्ट्रबीचको विशेष विवादास्पद मुद्दा हुन सक्ने जोखिममालाई मध्यनजर गर्दै अमेरिकी अधिकारीहरू पछिल्लो समय ती आरोपहरूबाट पछि हटेका छन् । तर ब्लिङ्कनले भियनामा चीनले रुसलाई सैन्य र आर्थिक सहायता दिएमा त्यसको गम्भीर परिणाम हुने चेतावनी दिनुभएको थियो ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  १ : ११ बजे