६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

संसदमा सभामुख र हर्क साम्पाङबीच चर्काचर्की, मर्यादा कायम राख्न चेतावनी



प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख डीपी अर्याल र श्रम संस्कृति पार्टीका सांसदहरूबीच चर्काचर्की भएको छ ।

सांसद हर्कराज राई (हर्क साम्पाङ) र आरेन राईले मन्त्रीहरूले उठाइएका प्रश्नको स्पष्ट जवाफ नदिएको भन्दै आपत्ति जनाएपछि बैठक केहीबेर तनावग्रस्त बनेको हो ।

बैठकमा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयमा जवाफ दिने कार्यक्रम थियो । सञ्चारमन्त्री तिमिल्सिना बोलिरहेका बेला हर्क साम्पाङले धरान र ‘डिजिटल नेपाल’ सम्बन्धी सुझाव राख्न खोजे पनि सभामुखले नियमावलीअनुसार स्पष्टीकरणको व्यवस्था नरहेको भन्दै बोल्न अनुमति दिएनन् ।

पछि श्रममन्त्री यादवले वैदेशिक रोजगारी क्षेत्रमा हुने ठगी नियन्त्रणका लागि सरकार सक्रिय रहेको बताए । उनले आफ्नो सम्बोधनको अन्त्यमा संस्कृत श्लोक उद्धृत गरेपछि श्रम संस्कृति पार्टीका सांसदहरूले प्रश्नको सीधा जवाफ नदिएको भन्दै विरोध जनाए ।

हर्क साम्पाङले “हामीले उठाएको प्रश्नको उत्तर नदिने हो भने संसदको अर्थ के?” भन्दै आपत्ति जनाए । आरेन राईले पनि मन्त्रीले “मनको गीत गाएको” टिप्पणी गर्दै प्रश्नको उत्तर दिनुपर्ने माग गरे ।

सभामुख अर्यालले पटक–पटक नियमावलीको स्मरण गराउँदै बैठकको मर्यादा कायम राख्न निर्देशन दिए । उनले समय मागेर मात्र बोल्न पाइने र बिना अनुमति बोल्दा नियमविपरीत हुने बताए । सांसदहरूले व्यवहार नियन्त्रण नगरे प्रतिनिधि सभा नियमावलीअनुसार बैठक कक्षबाट निष्कासन गर्न सकिने चेतावनी पनि दिए ।

केहीबेरको विवादपछि सभामुखले बैठकलाई नियमित कार्यसूचीअनुसार अघि बढाएका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  ९ : १५ बजे