६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

अन्तर्राष्ट्रिय कम्पनी उबरको काठमाडौंमा परीक्षण सेवा सुरु, ट्याक्सीमान्डुसँग साझेदारी



विश्वप्रसिद्ध अमेरिकी राइड–हेलिङ कम्पनी उबरले काठमाडौंमा आफ्नो सेवा परीक्षण (टेस्ट ड्राइभ) सुरु गरेको छ। नेपाली कम्पनी ट्याक्सीमान्डुसँग रणनीतिक साझेदारी गर्दै उबरले नेपालमा औपचारिक प्रवेश गरेको हो ।

ट्याक्सीमान्डुका संस्थापक अर्जुन केसीका अनुसार आजदेखि उबरको मोबाइल एपमार्फत काठमाडौंमा राइड बुक गरेर यात्रा गर्न सकिनेछ । हाल सेवा परीक्षणका रूपमा सञ्चालन गरिएको छ भने एक सातादेखि १० दिनभित्र उबरले औपचारिक रूपमा नेपालमा सेवा सुरु गरेको घोषणा गर्ने तयारी गरेको छ ।

ट्याक्सीमान्डुले उबरको प्रविधि नेपालमा भित्र्याउने, परीक्षण गर्ने, चालक खोज्ने तथा उनीहरूलाई तालिम दिने जिम्मेवारी पाएको छ। यसअघि ट्याक्सीमान्डुले याङ्गोलाई पनि नेपालमा भित्र्याउन सहजीकरण गरेको थियो ।

उबर नेपालमा शतप्रतिशत विदेशी लगानीमा सञ्चालन हुने भएको छ । कम्पनीले २०७४ साउन १ गते नै ‘उबर नेपाल’ नाममा कम्पनी दर्ता गराएको थियो । हालको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले सूचना प्रविधि क्षेत्रमा पूर्ण विदेशी लगानीको अनुमति दिएको छ ।

उबरले विश्वभर कार, बाइक, ट्याक्सी सेवा, खाना तथा औषधि डेलिभरी, पार्सल र कार्गो ढुवानीलगायतका सेवा प्रदान गर्दै आएको छ । नेपालमा भने सुरुमा राइड–सेयरिङ सेवामै केन्द्रित हुने अपेक्षा गरिएको छ ।

हाल नेपालमा पठाओ, इन्ड्राइभ र याङ्गोले सेवा दिइरहेका छन् । उबरको आगमनसँगै नेपालमा राइड–सेयरिङ क्षेत्र थप प्रतिस्पर्धी बन्ने र यसको कानुनी व्यवस्थाबारे नयाँ बहस सुरु हुने देखिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  ९ : १९ बजे