काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसहित २९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ । विभागले करिब २० अर्ब रुपैयाँ बिगो कायम गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
विभागले वैशाख दोस्रो सातामै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको र हाल अध्ययन अन्तिम चरणमा पुगेको जनाइएको छ । सरकारी वकिल कार्यालयका एक अधिकारीका अनुसार आगामी साता नै मुद्दा दायर हुन सक्ने तयारी भइरहेको छ ।
मुद्दा सिफारिस गरिएकामध्ये इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल र उनकी श्रीमती सुभी अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा ग्रुपका अध्यक्ष शाहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, हिमालयन रि–इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, व्यवसायी ऋषिराज मोर र सन्दीप चाचानलगायत रहेका छन् ।
विभागले सुलभ अग्रवाललाई चैत २१ गते र दीपक भट्टलाई चैत १९ गते पक्राउ गरेको थियो । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पनि पक्राउ गरेर दुई दिनपछि हाजिरी जमानीमा रिहा गरिएको थियो । भट्ट र सुलभ भने हालसम्म हिरासतमै छन् । शेखर गोल्छा सर्वोच्च अदालतको आदेशपछि रिहा भएका छन् भने अन्य केही आरोपित फरार रहेको जनाइएको छ ।
अनुसन्धानका क्रममा हिमालयन रि–इन्स्योरेन्ससहित पाँच कम्पनीबाट करिब ३ अर्ब ७३ करोड रुपैयाँ गैरकानुनी रूपमा सारेर प्रतिस्पर्धी कम्पनीको सेयर खरिद गरिएको खुलेको विभागको दाबी छ । विभागका अनुसार उक्त रकम धितोपत्र बजारमा प्रयोग गरी स्रोत लुकाउने, स्वरूप परिवर्तन गर्ने तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी गतिविधि गरिएको थियो ।
विभागले बिमा ऐन, धितोपत्रसम्बन्धी कानुन तथा सम्पत्ति शुद्धीकरण निवारण ऐनविपरीत कार्य गरेको आरोपमा अनुसन्धान गरेको हो । अभियोग पुष्टि भए आरोपितलाई २ देखि १० वर्षसम्म कैद, बिगोबमोजिम जरिवाना तथा स्रोत नखुलेको सम्पत्ति जफतको माग गरिने तयारी रहेको जनाइएको छ ।
अनुसन्धानमा भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत ठूलो परिमाणमा नेपाल पुनर्बिमा कम्पनीको सेयर खरिद गरिएको तथा विभिन्न कम्पनीको रकम प्रयोग गरेर कृत्रिम रूपमा सेयर मूल्य बढाउने प्रयास गरिएको आरोप पनि उल्लेख छ । धितोपत्र बोर्डको प्रतिवेदनले उधारो सेयर कारोबार, रकम चुक्ता नगरी कारोबार र बजारलाई प्रभावित पार्ने गतिविधि भएको देखाएको विभागको भनाइ छ ।
यसैबीच, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि धितोपत्र बजारमा कृत्रिम कारोबार, मूल्य उतारचढाव र लगानीकर्ता झुक्याउने गतिविधिसम्बन्धी छुट्टै अनुसन्धान गरिरहेको जनाएको छ ।









