२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

संसद् अवरोधबीच रास्वपाले बोलायो सर्वदलीय बैठक



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक जेठ २५ गते बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्नेछ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई–दुई जना प्रतिनिधिलाई सहभागी हुन निमन्त्रणा गरिएको छ ।

पाँचदिने भारत भ्रमण पूरा गरी जेठ २२ गते स्वदेश फर्किएका लामिछानेले पछिल्लो राजनीतिक घटनाक्रम र संसद्मा देखिएको गतिरोधबारे छलफल गर्न बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारतले मात्र नभई नेपालले पनि भारतको केही भूभाग अतिक्रमण गरेको आशयको अभिव्यक्ति दिएपछि संसद्मा विवाद चर्किएको छ । उक्त अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनको बैठक अवरुद्ध गर्दै आएका छन् ।

विपक्षी दलहरूले प्रधानमन्त्री शाहले संसद्मा उपस्थित भई माफी माग्नुपर्ने र विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइनुपर्ने माग राखेका छन् । उनीहरूले आफ्ना माग पूरा नभएसम्म संसद् सञ्चालन हुन नदिने अडान लिएका छन् ।

प्रतिनिधिसभाको बैठक जेठ २५ गते र राष्ट्रिय सभाको बैठक जेठ २६ गतेका लागि बोलाइएको छ । यस्ता बेला रास्वपाले आह्वान गरेको सर्वदलीय बैठकलाई संसद्मा देखिएको अवरोध अन्त्य गर्ने प्रयासका रूपमा हेरिएको छ ।

बैठकमा प्रधानमन्त्रीको अभिव्यक्ति, संसद्को अवरोध, दलहरूबीचको संवाद तथा राजनीतिक सहमतिको सम्भावनाबारे विस्तृत छलफल हुने रास्वपाले जनाएको छ । राजनीतिक गतिरोध अन्त्य गरी संसद्लाई नियमित रूपमा सञ्चालन गर्ने विषयमा साझा धारणा बनाउने प्रयास बैठकको मुख्य उद्देश्य रहने बताइएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  १० : ३० बजे