प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको जेठ १७ गतेको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण, आपत्तिजनक र लज्जास्पद ठहर गर्दै त्यसको भर्त्सना गरेको छ । तर संसद अवरोधको नीति भने फिर्ता लिएको छ ।
संसदमा बोल्दै कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदाम्बेले सभामुखलाई सम्बोधन गर्दै भने, “प्रधानमन्त्रीको अभिव्यक्ति घोर निन्दनीय छ । हामी यसको भत्सना गर्दछौं ।” उनले यो अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र अखण्डतामाथि प्रहार गरेको आरोप लगाए । ‘लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो’ उनले जोड दिए कि लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूभाग हो र यो संसदले नै चुच्चे नक्सा पारित गरेको छ । उनले सीमा विवादको समाधान उत्तेजना र आवेगमा नभई संयमित कूटनीतिक प्रक्रियाबाट हुनुपर्ने बताए ।
उनले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई टेबुल ठटाएर समर्थन गरेको घटनालाई ‘अहिलेसम्मकै सबैभन्दा लज्जास्पद दृश्य’ भने । उनले वीर भक्ति थापाको आत्माले त्यस्ता सांसदहरूलाई धिक्कार्ने बताए ।
उनले अघिल्लो संसदमा आफ्नै सरकारको कमजोरीबारे कांग्रेस सांसदहरूले प्रश्न उठाउने गरेको स्मरण गर्दै कांग्रेस ‘लास र दासहरूको पार्टी नभएको’ बताए । तर अहिले सत्तापक्षले सत्य बोल्न नसक्ने अवस्था आएको आरोप लगाए ।
प्रधानमन्त्रीले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको बेला सदन छाडेको घटनालाई संसदीय इतिहासमा नभएको दुर्लभ घटना भने । उनले यसलाई राष्ट्रपति र मतदाताप्रतिको अपमान ठाने ।
उनले नागरिकहरूले प्रधानमन्त्री र सत्तारूढ दलका गतिविधि ‘कालो डायरी’ मा टिपोट गरिरहेको उल्लेख गर्दै भने, “यो अभियानलाई नकारात्मक नलिनू, यसले सच्चिन मद्दत गर्छ ।” उनले सुशासन, भ्रष्टाचार नियन्त्रण र गरिबी जस्ता मुद्दामा सरकारको कमी औंल्याए ।
उनले सदन अवरोधको नीति फिर्ता लिँदै प्रधानमन्त्रीलाई सदनमा आएर सफाइ दिनुपर्ने मागलाई भने कायम राखे । “प्रधानमन्त्रीले देश र जनतासँग माफी माग्नुपर्छ,” उनले भने । उनले बजेट छलफल र जनताका अन्य मुद्दाहरूमा संसद अघि बढाउनुपर्ने बताए ।
उनले बिपी कोइराला, पृथ्वीनारायण शाह र नेपाली कांग्रेसको राष्ट्रियताप्रतिको अडानको स्मरण गर्दै राष्ट्रिय संकटको बेला कांग्रेसले सधैं राष्ट्रिय एकता र स्वाभिमानलाई प्राथमिकता दिने दोहोर्याए ।









