काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन नेपाल प्रहरीले छानबिन समिति गठन गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार घटनाको अनुसन्धानका लागि नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरिएको हो ।
बनेपाबाट रोशी–खार्पाचोकतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस शुक्रबार अनियन्त्रित भई करिब ३०० मिटर तल खस्दा ठूलो दुर्घटना भएको थियो। दुर्घटनामा बसमा सवार आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन् । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
छानबिन समितिलाई घटनाको वास्तविक अवस्था, दुर्घटनाको कारण तथा सम्भावित जिम्मेवार पक्ष पहिचान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा मृत्यु भएका सबै आठ जनाको पहिचान खुलेको छ ।
मृतकमध्ये रोशी गाउँपालिका–६ का ७३ वर्षीय मेघबहादुर तामाङ, ५५ वर्षीय राजु तामाङ र ७५ वर्षीय इन्द्रबहादुर तामाङ रहेका छन् । त्यस्तै, रोशी–७ की ३४ वर्षीया फूलमाया तामाङ र ६० वर्षीया माया तामाङ, रोशी–८ की ६० वर्षीया प्यारीमाया तामाङको पनि मृत्यु भएको हो ।
अन्य मृतकमध्ये दैलेख घर भई त्रिनेत्र दल गण भकुन्डेबेँसीमा कार्यरत नेपाली सेनाका ३० वर्षीय अमलदार बमबहादुर भण्डारी र सिन्धुलीको घ्याङ्लेक गाउँपालिका–४ निवासी २२ वर्षीय सुमी तामाङ रहेका छन् ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ भने मृतकका आफन्तसँग सम्पर्क गरी कानुनी प्रक्रिया अघि बढाइएको छ ।









