सुन तस्करीमा मिलोमतोको अभियोग लागेका पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेका छन् । उनले बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने निर्णय गरेको जानकारी दिएका हुन् ।
महराले आजकै मितिदेखि पार्टीको सक्रिय भूमिकाबाट अलग भई साधारण सदस्यका रूपमा मात्र रहने निर्णय गरेको बताएका छन् । उनले आफ्नो निर्णय निकै गह्रौँ मनका साथ लिएको उल्लेख गरेका छन् ।
वक्तव्यमा उनले भनेका छन्, “निकै गह्रौँ मनका साथ आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु ।”
महराले आफ्नो निर्णय पार्टी वा नेतृत्वप्रति कुनै असन्तुष्टि, गुनासो वा वैचारिक मतभेदका कारण नभएको स्पष्ट पारेका छन् । स्वास्थ्य अवस्थाका कारण सक्रिय राजनीतिक जिम्मेवारी निर्वाह गर्न कठिन भएको भन्दै उनले विश्राम लिने निर्णय गरेको जनाएका छन् ।
“यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई केवल स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको परिणाम हो,” वक्तव्यमा महराले उल्लेख गरेका छन् ।
लामो समयदेखि नेपालको वामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका महरा माओवादी आन्दोलनका प्रमुख नेतामध्ये एक हुन् । उनी पूर्वसभामुख, पूर्वउपप्रधानमन्त्री तथा विभिन्न मन्त्रालयको नेतृत्वसमेत गरिसकेका छन् ।
उनको यस निर्णयलाई नेपाली कम्युनिस्ट आन्दोलनका एक अनुभवी नेताको सक्रिय राजनीतिक यात्रामा आएको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ ।








