७ असार २०८३, आइतबार | Sun Jun 21 2026

थप आक्रामक हुने प्रधानमन्त्रीको संकेत, अख्तियारका अधिकारीहरुसँग पाँच घण्टा होइन–पाँच वर्ष बसिन्छ



प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले आर्थिक अनियमितता, सरकारी सम्पत्तिको दोहन र सार्वजनिक स्रोतको दुरुपयोग गर्नेहरूमाथि सरकार थप आक्रामक रूपमा प्रस्तुत हुने संकेत दिएका छन् ।

चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा सुरु भएको रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विगतमा भएका आर्थिक अनियमितता र सरकारी सम्पत्तिको दोहनका घटनामा आवश्यक परे ‘निहुँ खोजेर पनि’ छानबिन गरिने बताएका हुन् ।

उनले रास्वपालाई कुनै वाम, दक्षिण वा केन्द्रवादी राजनीतिक धारामा सीमित नभई विकासवादी पार्टीका रूपमा व्याख्या गरे । “हाम्रो पार्टीको चिन्तन लेफ्ट हो, राइट हो वा सेन्टर हो भन्ने प्रश्न उठ्ने गरेको छ । हाम्रो पार्टी विकासवादी पार्टी हो। विकास गर्ने, काम गर्ने र परिणाम दिने पार्टी हो,” उनले भने ।

प्रधानमन्त्री शाहले रास्वपा प्रतिशोधको राजनीतिमा विश्वास नगर्ने स्पष्ट पार्दै पार्टीको मुख्य लक्ष्य देशलाई अगाडि बढाउनु रहेको बताए। तर विगतमा सार्वजनिक सम्पत्ति र सरकारी रकमको दुरुपयोग भएको प्रमाण भेटिए त्यसलाई बेवास्ता नगर्ने चेतावनी दिए ।

“हाम्रो पार्टी प्रतिशोध साँध्ने, पुराना कुरा कोट्याएर निहुँ खोज्दै बस्ने पार्टी होइन,” उनले भने, “तर विगतका दिनमा फटाइँ भएको छ, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दुरुपयोग भएको छ भने त्यहाँ निहुँ खोज्न जरुरी हुन्छ। त्यहाँ हामी निहुँ खोज्छौँ ।”

शाहले भ्रष्टाचार तथा आर्थिक अनियमितताको अनुसन्धानका क्रममा कानुनी प्रक्रिया र संस्थागत प्रणालीलाई पूर्ण रूपमा पालना गरिने पनि बताए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायसँग आवश्यक परामर्श र सहकार्य गरेर अघि बढ्ने उल्लेख गरे ।

“त्यो निहुँ खोज्दा अख्तियारसँग पाँच घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह गर्नुपर्छ भने पाँच घण्टा मात्र होइन, पाँच वर्षसम्म पनि गर्न तयार छौँ,” उनले भने, “हामी नियम-कानुन मिच्दैनौँ । कानुनको दायराभित्र रहेर काम गर्छौँ र नियमभन्दा बाहिर जाँदैनौँ ।”

प्रधानमन्त्री शाहले वर्तमान सरकारको दृष्टिकोण अतीतमा अल्झिनेभन्दा भविष्य निर्माणमा केन्द्रित रहेको पनि बताए । उनका अनुसार सरकारको प्राथमिकता सुशासन, विकास, पारदर्शिता र सार्वजनिक स्रोतको संरक्षणमा केन्द्रित छ ।

रास्वपाको पहिलो महाधिवेशनमा व्यक्त गरिएको शाहको भनाइलाई सरकारले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सम्पत्तिको संरक्षण तथा आर्थिक अनुशासन कायम गर्ने विषयमा कडा सन्देशका रूपमा हेरिएको छ । महाधिवेशन तीन दिनसम्म चल्नेछ र यसमा देशभरबाट चार हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी छन् ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १० : ०८ बजे