७ असार २०८३, आइतबार | Sun Jun 21 2026

रास्वपा महाधिवेशनमा बन्दसत्र र नेतृत्व चयनको प्रकृया



रास्वपाको पहिलो केन्द्रीय महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएसँगै अब बन्दसत्र र नेतृत्व चयन प्रक्रियातर्फ सबैको ध्यान केन्द्रित भएको छ । चितवनको भरतपुरमा जारी महाधिवेशनअन्तर्गत सोमबारदेखि बन्दसत्र सुरु हुने कार्यक्रम रहेको छ, जहाँ पार्टीको भावी दिशा, संगठनात्मक संरचना र नेतृत्व चयनका महत्वपूर्ण विषयहरूमा निर्णय गरिनेछ ।

बन्दसत्र बिहान ८ बजेदेखि सुरु गर्ने कार्यतालिका भए पनि प्रतिनिधिहरूको उपस्थितिको अवस्था तथा व्यवस्थापकीय कारणले केही ढिला हुन सक्ने अनुमान गरिएको छ । बन्दसत्रमा केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव, राजनीतिक तथा सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिनेछन् । ती दस्तावेजमाथि प्रतिनिधिहरूले छलफल गरी आवश्यक सुझाव र संशोधन प्रस्ताव राख्नेछन् ।

यसैबीच, रास्वपाको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सोमबार दिउँसो १ बजेदेखि औपचारिक रूपमा सुरु गर्ने तयारी गरेको जनाएको छ । निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार महाधिवेशन प्रतिनिधिहरूको नामावली पार्टीको वेबसाइटमा सार्वजनिक गरिएको छ । नामावलीमा कुनै त्रुटि भए सच्याउन तथा दाबी–विरोध दर्ता गर्न आइतबार बिहान ९ बजेदेखि सोमबार बिहान ९ बजेसम्मको समय उपलब्ध गराइएको छ ।

निर्वाचन आयोगले सोमबार बिहान १० बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशित गर्नेछ । त्यसपछि उम्मेदवारी मनोनयन, प्रारम्भिक उम्मेदवार सूची प्रकाशन, दाबी–विरोध, उम्मेदवारी फिर्ता र अन्तिम उम्मेदवार सूची प्रकाशनलगायतका कार्यक्रम सञ्चालन गरिनेछन् ।

महाधिवेशनमा देशभित्र र प्रवासबाट गरी ४ हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी भएका छन् । प्रवासमा रहेका प्रतिनिधिहरूले मोबाइल एपमार्फत मतदान गर्न पाउने व्यवस्था गरिएको छ भने महाधिवेशनस्थलमा उपस्थित प्रतिनिधिहरूले इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभिएम) को प्रयोग गरी मतदान गर्नेछन् ।

निर्वाचनको पहिलो चरणमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गरिनेछन् । निर्वाचित ९९ केन्द्रीय सदस्यहरूमध्येबाट सभापतिबाहेकका अन्य पदाधिकारी पदमा उम्मेदवारी दिन सकिने व्यवस्था प्रस्तावित विधानमा उल्लेख छ ।

प्रस्तावित विधानअनुसार रास्वपाको केन्द्रीय समिति १५१ सदस्यीय हुने व्यवस्था गरिएको छ । तीमध्ये ९९ जना प्रत्यक्ष निर्वाचनबाट चयन हुनेछन् भने ५० जना सदस्य सभापतिले मनोनयन गर्ने प्रस्ताव छ । त्यसैगरी सभापतिले एक जना उपसभापति, एक जना महामन्त्री, एक जना सहमहामन्त्री, एक जना कोषाध्यक्ष, एक जना सहकोषाध्यक्ष, एक जना प्रवक्ता र एक जना सहप्रवक्ता मनोनयन गर्न सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

निर्वाचन आयोगका प्रमुख केसीका अनुसार महाधिवेशन हलबाट विधानमा कुनै संशोधन वा परिमार्जन भए निर्वाचन प्रक्रिया सोहीअनुसार अगाडि बढाउनुपर्ने भएकाले आयोगले विधान पारित प्रक्रियालाई पनि नजिकबाट नियालिरहेको छ । प्रस्तावित व्यवस्थाअनुसार प्रत्येक प्रदेशबाट कम्तीमा दुई महिलासहित पाँच जनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन सक्ने प्रावधान राखिएको छ ।

रास्वपाको पहिलो महाधिवेशनले पार्टीको भावी नेतृत्व, संगठनात्मक ढाँचा र राजनीतिक कार्यदिशा निर्धारण गर्ने भएकाले बन्दसत्र र निर्वाचन प्रक्रियालाई विशेष महत्वका साथ हेरिएको छ । आगामी केही दिनमा हुने निर्णयहरूले रास्वपाको आगामी राजनीतिक यात्राको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १० : २० बजे