राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सभापति पदमा लामिछानेको मात्रै उम्मेदवारी परेकाले उनलाई निर्विरोध निर्वाचित घोषणा गरिएको हो । लामिछानेले सभापति पदका लागि उम्मेदवारी दर्ता गर्दा उनको प्रस्तावकमा बालेन्द्र शाह रहेका थिए ।
चितवनमा जारी महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि मनोनयन दर्ता प्रक्रिया जारी रहेको निर्वाचन आयोगले जनाएको छ । प्रमुख केसीका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया राति १२ बजेसम्म सञ्चालन हुनेछ ।
रास्वपाको विधानअनुसार सभापति र वरिष्ठ नेता पदका लागि केन्द्रीय सदस्य निर्वाचित हुनुपर्ने व्यवस्था छैन । तर बाँकी ९९ जना केन्द्रीय समिति सदस्य भने निर्वाचनमार्फत चयन गरिनेछन् ।
निर्वाचन आयोगका अनुसार पहिलो चरणको मतदान बुधबार बिहानदेखि सुरु हुनेछ । पहिलो चरणमा पार्टी सभापति तथा केन्द्रीय सदस्य पदका लागि मतदान हुने कार्यक्रम रहेको छ । करिब ४,५०० भन्दा बढी मतदाताले मतदान गर्ने अनुमान गरिएको छ, जसका लागि करिब आठ घण्टा समय लाग्ने आयोगले जनाएको छ ।
मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्र मतगणना गरी नतिजा सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन आयोग प्रमुख केसीले जानकारी दिए ।
रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको संगठनात्मक सुदृढीकरण तथा भावी नेतृत्व चयनका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।









