गृहमन्त्री सुधन गुरुङले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि भरतपुरस्थित एक होटललाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ ।
गृहमन्त्रीको सचिवालयका अनुसार मंगलबार चितवनको लर्ड्स बिजनेस कम्प्लेक्स होटलमा अम्लेट खाने क्रममा गुरुङले माछाको काँडा फेला पारेका थिए। अम्लेटमा अखाद्य वस्तु भेटिएको विषय सार्वजनिक भएपछि सम्बन्धित निकायले होटलमा अनुगमन तथा सोधपुछ गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० स्थित उक्त होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार तीन लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै अनुगमनका क्रममा बरामद गरिएका खाद्य सामग्रीहरू नष्ट गर्ने निर्णय पनि गरिएको कार्यालयले जनाएको छ ।
प्रशासकीय अधिकृत मदन लामा थिङद्वारा जारी विज्ञप्तिमा उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा सहायक प्रमुख जिल्ला अधिकारीसहितको निरीक्षण टोलीले गरेको अनुगमनमा होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, तरकारीको ताजापनमा आवश्यक ध्यान नदिएको तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी खाद्य सामग्री उपलब्ध गराएको पाइएको उल्लेख गरिएको छ ।
विज्ञप्तिअनुसार अनुगमनबाट देखिएका कैफियतहरूको विश्लेषण गर्दा होटलले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा (२) को खण्ड (क) तथा दफा ३८ को खण्ड (ङ) अन्तर्गतको कसुर गरेको निष्कर्ष निकालिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारीको निर्णयअनुसार होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम तीन लाख रुपैयाँ जरिवाना गरिएको र बरामद गरिएका खाद्य सामग्री नष्ट गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।









