२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

बढ्दै छ आत्मदाहको घट्ना, आज काठमाडौंमा आत्मदाहको प्रयास



केही दिनअघि न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयबाहिर एक तिब्बती अभियन्ताले आत्मदाह गरेका थिए । उक्त घटनाले विश्वव्यापी ध्यान तानेको थियो ।

आज फेरि काठमाडौंमा राहदानी विभागअगाडि एक युवाले आत्मदाहको प्रयास गरेका छन् । मुगुका २५ वर्षीय राइड-शेयरिङ चालक गणेश नेपालीले आफ्नो शरीरमा आगो लगाएको र उनको शरीरको करिब ७० प्रतिशत भाग जलेको बताइएको छ । उनी गम्भीर अवस्थामा उपचाररत छन् ।

कतिपयलाई यो घटना आत्महत्याको अर्को एउटा घटना मात्र जस्तो लाग्न सक्छ । नेपालमा हरेक वर्ष करिब ६ हजारदेखि ७ हजार जनासम्मले आत्महत्या गर्ने गरेको तथ्यांक छ, जसका अधिकांश कारण व्यक्तिगत वा मानसिक स्वास्थ्यसँग सम्बन्धित हुने गर्छन् । तर सार्वजनिक स्थलमा गरिने आत्मदाहका प्रयासहरू धेरैजसो राजनीतिक, सामाजिक वा राज्यका निकायप्रति रहेको गहिरो असन्तुष्टिसँग जोडिएर हेर्ने गरिन्छ । यस्ता घटनामा व्यक्तिले आफ्नो सन्देश वा विरोधलाई सार्वजनिक रूपमा अभिव्यक्त गर्न खोजेको पनि देखिन्छ ।

गणेश नेपालीको घटनाका सम्बन्धमा प्रारम्भिक विवरणअनुसार राहदानी विभागअगाडि पार्क गरिएको उनको मोटरसाइकलमा काठमाडौं महानगरपालिकाको नगर प्रहरीले ‘ह्वील लक’ लगाएपछि उनले मोटरसाइकलबाट पेट्रोल निकालेर आफूमाथि आगो लगाएको बताइएको छ । घटनाको वास्तविक कारण र त्यसअघि उनलाई के–कस्ता परिस्थितिले प्रभावित बनाएको थियो भन्ने विषय अनुसन्धानबाट मात्रै स्पष्ट हुनेछ । यद्यपि, राइड-शेयरिङ चालक भएकोले ट्राफिक नियम, जरिवाना र नियामक निकायसँग सम्बन्धित विभिन्न दबाब तथा झन्झट भोग्ने गरेको हुनपनि सक्दछ । जसले गर्दा उनमा असन्तुष्टी तिब्र भउर यो निर्णय गर्न पुग्यो ।

यसअघि भएका यस्ता घटनाहरू

नेपालमा यसअघि पनि आत्मदाहका घटना पटक–पटक भएका छन् ।

वि.सं. २०८२ को कार्तिकमा गायिका नितु पौडेलले काठमाडौंमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरेकी थिइन् । गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

त्यसैगरी, वि.सं. २०८३ को असारमा नागरिकताको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा एक युवाले आत्मदाहको प्रयास गरेका थिए ।

वि.सं. २०७९ को फागुनमा इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यले काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए । उनको पनि उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको थियो । यो घट्नाले राष्ट्रिय बहस नै निमत्याएको थियो ।

नेपालमा तिब्बती समुदायसँग सम्बन्धित आत्मदाहका प्रयासहरू पनि विगतमा भएका छन् । विशेषगरी काठमाडौंको बौद्ध क्षेत्रमा चीनको तिब्बत नीतिको विरोधस्वरूप केही तिब्बतीहरूले आत्मदाह गरेका घटनाहरू सार्वजनिक भएका थिए ।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  ७ : २५ बजे