काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएपछि सरकारले मृतकका परिवारसँग औपचारिक वार्ता थालेको छ । वीर अस्पतालमा भइरहेको वार्तामा सरकारका उच्च अधिकारी तथा मृतकका परिवारका सदस्य सहभागी छन् ।
वार्तामा गृहमन्त्री सुधन गुरुङको सचिवालयका सदस्य अनिल बानियाँ, प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीको सचिवालयका प्रतिनिधि, गृह मन्त्रालयका कर्मचारी तथा मृतकका दाजु मदन नेपालीसहित परिवारका सदस्य सहभागी छन् ।
परिवारले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र न्यायको सुनिश्चितताबिनासम्म शव नबुझ्ने अडान लिएको छ । वीर अस्पतालका अनुसार परिवारले हालसम्म पोस्टमार्टमका लागि पनि सहमति दिएको छैन ।
२० घण्टासम्म जीवन बचाउने प्रयास
मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीले बिहीबार दिउँसो राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । आगलागीमा उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो भने आगोको धुवाँ फोक्सोसम्म पुगेकाले श्वासप्रश्वासमा गम्भीर क्षति पुगेको चिकित्सकहरूले बताएका छन् ।
वीर अस्पतालका प्लास्टिक सर्जन डा. पीयूष दाहालका अनुसार उनलाई तत्काल भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारका क्रममा दुई पटक कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) समेत दिइएको थियो । भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालका विशेषज्ञसँग पनि परामर्श गरिएको भए पनि स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएकाले विदेश लैजान सम्भव नभएको चिकित्सकहरूको निष्कर्ष थियो ।
लगातारको प्रयासका बाबजुद शुक्रबार बिहान ११:१९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
विदेश जाने सपना अधुरै
गणेशले कृषितर्फ जुनियर टेक्निकल असिस्टेन्ट (जेटिए) अध्ययन गरेका थिए। लोक सेवा आयोगको परीक्षा पटक–पटक दिए पनि सफल हुन सकेका थिएनन् । दृष्टिविहीन बनेका बुबा, श्रीमती र दुई वर्षीया छोरीको जिम्मेवारी बोकेका उनी पछिल्लो समय राइड–सेयरिङ सेवा (पठाओ) चलाएर परिवार पालिरहेका थिए ।
परिवारका अनुसार उनी विदेश जाने तयारीमा पनि थिए र केही दिनअघि मात्रै दाजुसँग त्यसबारे छलफल गरेका थिए ।
घटनाको अनुसन्धान जारी
प्रहरीका अनुसार राहदानी विभागअगाडि मोटरसाइकल पार्किङका क्रममा काठमाडौं महानगरपालिकाको नगर प्रहरीले ह्विललक लगाएपछि विवाद भएको थियो। सोही क्रममा गणेशले मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्की आगो लगाएका थिए ।
घटनाको अनुसन्धानका लागि प्रहरीले दुई महिला र एक पुरुष गरी तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । पार्किङको सामान्य विवाद कसरी आत्मदाहसम्म पुग्यो र घटनाअघि के–कस्तो व्यवहार भयो भन्ने विषय अनुसन्धानको केन्द्रमा रहेको प्रहरीले जनाएको छ ।
अस्पताल र माइतीघरमा विरोध प्रदर्शन
गणेशको मृत्युको खबरसँगै वीर अस्पताल र माइतीघर क्षेत्रमा आफन्त, स्थानीय तथा विभिन्न समूहले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडित परिवारलाई न्याय दिन माग गरेका छन् । सम्भावित तनावलाई ध्यानमा राख्दै अस्पताल र माइतीघर क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसैबीच सरकारले वार्तामार्फत सहमति जुटाएर शव बुझ्ने वातावरण बनाउने प्रयास गरिरहेको छ । तर परिवारले न्यायको सुनिश्चितता र घटनाको सत्यतथ्य सार्वजनिक नभएसम्म शव नबुझ्ने अडान कायम राखेको छ ।









