काठमाडौं । शुक्रबार राति परेको अविरल वर्षापछि वाग्मती नदीमा आएको बाढीले कीर्तिपुरस्थित सुन्दरीघाटको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर जलमग्न हुँदा त्यहाँ आश्रय लिइरहेका १५४ जना सुकुमवासीको बिचल्ली भएको छ। बाढीका कारण उनीहरूको खाद्यान्न, लत्ताकपडा, औषधि र दैनिक प्रयोगका अधिकांश सामग्री नष्ट भएका छन्।
सुकुमवासीका अनुसार राति करिब १ बजेदेखि होल्डिङ सेन्टरभित्र पानी पस्न थालेको थियो। केही समयमै पानीको सतह तीव्र रूपमा बढेपछि उनीहरू ज्यान जोगाउने कि सामान बचाउने भन्ने अन्योलमा परेका थिए। उनीहरूले विभिन्न निकायमा सहयोगका लागि सम्पर्क गरेका थिए।
बाढी बढ्दै गएपछि नेपाल प्रहरीसहित सुरक्षाकर्मीको टोली डुङ्गासहित घटनास्थल पुगेको थियो। उद्धार टोलीले ५४ जनालाई सुरक्षित रूपमा उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा स्थानान्तरण गरेको जनाएको छ। अन्य केही विस्थापित आफन्तको घरमा आश्रय लिन पुगेका छन् भने केही अहिले पनि होल्डिङ सेन्टर आसपासमै छन्।
बाढीपछि होल्डिङ सेन्टर हिलो र लेदोले भरिएको छ। निरन्तर वर्षा भइरहेकाले फेरि नदी उर्लने हो कि भन्ने त्रासमा स्थानीयहरू रहेका छन्। विस्थापितहरू हिलोमा पुरिएका सामान खोज्ने प्रयास गरिरहेका छन् भने कतिपय आफ्ना सम्पूर्ण सामान नष्ट भएपछि निराश बनेका छन्।
होल्डिङ सेन्टरमा बस्दै आएकी मेनुका गुरुङले बाढीले आफूहरूको थोरै भए पनि जोगाएर राखेको खाद्यान्न, लुगाफाटा र अन्य सामग्री पूर्ण रूपमा नष्ट भएको बताइन्। उनले आफूहरूलाई सुरक्षित व्यवस्थापन गर्ने भन्दै पुरानो बस्तीबाट हटाइए पनि अहिले झन् असुरक्षित अवस्थामा बाँच्न बाध्य बनाइएको गुनासो गरिन्।
यस्तै, गीता लामाले रातिको बाढीमा आफ्नो परिवारको सम्पूर्ण सरसामानसँगै बिरामी श्रीमान्का नियमित सेवन गर्ने औषधि पनि बगाएको बताइन्। उनका श्रीमान् डिप्रेसनलगायत स्वास्थ्य समस्याबाट पीडित रहेको र औषधि तथा चिकित्सकीय कागजातसमेत नष्ट भएकाले थप समस्या भएको उनले सुनाइन्।
होल्डिङ सेन्टरकी अर्की बासिन्दा रस्मिला उप्रेतीले रगतमा संक्रमणको उपचारका लागि सेवन गरिरहेको औषधि बाढीले बगाएको बताइन्। त्यस्तै, राजकुमार माझीले औषधि, खाद्यान्न र अन्य आवश्यक सामग्री सबै नष्ट भएको भन्दै आफूहरू थप संकटमा परेको बताए।
विस्थापितहरूले आफूहरूलाई स्थायी र सुरक्षित आवासको व्यवस्था गर्न तथा बाढीबाट भएको क्षतिको राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। उनीहरूले पुरानो बस्ती हटाउँदा सुरक्षित व्यवस्थापन गर्ने आश्वासन दिइए पनि पर्याप्त पूर्वतयारीबिना होल्डिङ सेन्टरमा सारिएकाले अहिले दोहोरो पीडा भोग्नुपरेको गुनासो गरेका छन्।
यस घटनाबारे सम्बन्धित सरकारी निकायले क्षतिको विस्तृत विवरण संकलन तथा प्रभावित परिवारहरूको व्यवस्थापनका लागि आवश्यक पहल भइरहेको जनाएको छ।









