काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारी पक्राउका क्रममा घाइते भएपछि उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ।
गए राति बागमती नदीमा आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासीहरू समस्यामा परेका थिए। उनीहरूलाई सहयोग गर्न शनिबार होल्डिङ सेन्टर पुगेका अन्सारीसहित तीन जना जेनजी अभियन्तालाई प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ पर्ने अन्य दुई जना नहेन्द्र खड्का र सरिश्मा थापालाई भने पछि रिहा गरिएको जनाइएको छ।
जेनजी अभियन्ता तनुजा पाण्डेका अनुसार पक्राउ गर्ने क्रममा प्रहरीले माजिद अन्सारीमाथि कुटपिट गरेको र त्यसबाट उनको टाउको तथा अनुहारमा गम्भीर चोट लागेको छ। उनले प्रहरीको बुट प्रहारका कारण अनुहार र शरीरको माथिल्लो भागमा चोट लागेको प्रारम्भिक जानकारी प्राप्त भएको सामाजिक सञ्जालमार्फत उल्लेख गरेकी छन्।
उनका अनुसार शनिबार राति नै अन्सारीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको हो। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।
यसैबीच नेपाल जेनजी फ्रन्टले प्रेस विज्ञप्ति जारी गर्दै होल्डिङ सेन्टरमा पुगेका जेनजी अभियन्तामाथि भएको प्रहरी दमनको भर्त्सना गरेको छ। फ्रन्टले घाइते माजिद अन्सारीको प्रभावकारी उपचारको व्यवस्था गर्न तथा घटनाबारे निष्पक्ष छानबिन गरी जिम्मेवारमाथि आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
उक्त घटनाबारे नेपाल प्रहरीले औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन।









