२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

ऊर्जा व्यापार र प्रसारण लाइनका मुद्दामा छलफल गर्न भारतीय अतिरिक्त विदेश सचिव मन्नु महावर नेपाल आउँदै



नेपाल–भारतबीच ऊर्जा व्यापार, अन्तरदेशीय प्रसारण लाइन तथा द्विपक्षीय ऊर्जा सहकार्यका विविध विषयमा छलफल गर्न भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मन्नु महावर सोमबार नेपाल आउने भएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार महावर नेपाल–भारत ऊर्जा सचिवस्तरीय द्विपक्षीय संयन्त्रको बैठकमा सहभागी हुनेछन्। असार ३० र ३१ गते पोखरामा हुने बैठकमा दुवै देशका अधिकारीहरूले ऊर्जा व्यापारसँग सम्बन्धित विभिन्न एजेन्डामा छलफल गर्ने तयारी गरिएको छ।

महावर भारतीय विदेश मन्त्रालयको ‘नर्थ डिभिजन’ प्रमुख हुन्। उक्त महाशाखाले नेपाल र भुटानसँग सम्बन्धित कूटनीतिक तथा द्विपक्षीय विषयहरू हेर्दै आएको छ।

दुवै देशबीच ऊर्जा सचिवस्तरीय संयन्त्रको बैठक प्रत्येक छ–छ महिनामा बस्ने व्यवस्था भए पनि सन् २०२५ को फेब्रुअरीमा नयाँ दिल्लीमा भएको बैठकपछि नियमित बैठक हुन सकेको थिएन। लामो अन्तरालपछि हुन लागेको बैठकलाई ऊर्जा सहकार्यका दृष्टिले महत्वपूर्ण मानिएको छ।

बैठकमा नेपालबाट भारत हुँदै बंगलादेशमा भइरहेको विद्युत् निर्यात विस्तारको विषय प्रमुख एजेन्डा रहने अपेक्षा गरिएको छ। हाल नेपालले भारतको प्रसारण प्रणाली प्रयोग गरी ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरिरहेको छ। नेपालले थप विद्युत् निर्यात गर्न चाहेको भए पनि त्यसका लागि भारतको स्वीकृति आवश्यक पर्ने भएकाले यस विषयमा पनि छलफल हुने बताइएको छ।

त्यस्तै, २२० केभी क्षमताको चमेलिया–जौलजिबी अन्तरदेशीय डबल सर्किट प्रसारण लाइन निर्माणमा देखिएको ढिलाइबारे पनि बैठकमा समीक्षा हुने जनाइएको छ। उक्त परियोजनाअन्तर्गत नेपाल र भारत दुवैले आ–आफ्नो भूभागमा प्रसारण लाइन निर्माण गर्नुपर्ने भए पनि काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन।

यसका अतिरिक्त सीमा पार विद्युत् व्यापार, प्रसारण पूर्वाधार विस्तार तथा ऊर्जा क्षेत्रमा रहेका अन्य प्राविधिक र नीतिगत विषयमा पनि छलफल हुने तयारी छ।

महावरको नेपाल भ्रमण प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणको चर्चा चलिरहेका बेला हुन लागेको हो। भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको जनाइएको छ।

यसअघि गत जुनमा परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा पनि नेपाल–भारत ऊर्जा व्यापार, सीमा पार विद्युत् प्रसारण तथा क्षेत्रीय ऊर्जा सहकार्यका विषयमा उच्चस्तरीय छलफल भएको थियो। पोखरामा हुने सचिवस्तरीय बैठकले ती विषयमा थप प्रगति गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  १० : ५३ बजे