नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका छन्।
बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई कारागारबाट तत्काल रिहा गर्न आदेश दिएको हो। आदेशलगत्तै उनी जलेश्वर कारागारबाट मुक्त भएका छन्।
थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। फैसला भएको भोलिपल्टै उनलाई पक्राउ गरी जलेश्वर कारागार पठाइएको थियो।
सर्वोच्च अदालतले गत असार १९ गते जारी गरिएको कैदी पुर्जी कानुनसम्मत नभएको निष्कर्ष निकाल्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।
यद्यपि सर्वोच्चको आदेशले उच्च अदालतको फैसला उल्ट्याएको नभई बन्दी बनाउने प्रक्रियाको वैधानिकतामाथि प्रश्न उठाउँदै कैदी पुर्जी कानुनसम्मत नरहेको आधारमा रिहाइको आदेश दिएको हो।









