कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ।
बिहीबार विपक्षी दल नेकपा र नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले संयुक्त रूपमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। प्रस्तावमा नेकपाका ११ र कांग्रेसका ५ जना गरी १६ जना सांसदको हस्ताक्षर रहेको कर्णाली प्रदेशसभा सचिवालयले जनाएको छ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा दर्ता गरिएको उक्त प्रस्तावमा नेपालको संविधानको धारा १८८ को उपधारा (५) बमोजिम कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिएको छ।
यसअघि बुधबार सत्ता साझेदार नेपाली कांग्रेसले सरकारबाट बाहिरिने निर्णय गर्दै सरकारमा सहभागी आफ्ना चार मन्त्रीको राजीनामा गराएको थियो। यद्यपि कांग्रेसले त्यसबेला सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको थिएन।
सरकारबाट बाहिरिएको एक दिनपछि कांग्रेसले विपक्षी नेकपासँग मिलेर मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको हो।
अब प्रदेशसभा नियमावली र संवैधानिक व्यवस्थाअनुसार अविश्वास प्रस्तावमाथि छलफल तथा निर्णय प्रक्रिया अघि बढ्नेछ। प्रस्ताव पारित भएमा मुख्यमन्त्री कँडेल पदमुक्त हुनेछन् भने प्रस्तावमा उल्लेख गरिएका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई नयाँ मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक प्रक्रिया सुरु हुनेछ।









