१७ श्रावण २०८३, आइतबार | Mon Aug 3 2026

काठमाडौं उपत्यकामा एलपी ग्यासको हहकार



काठमाडौं उपत्यकामा केही दिनयता खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि उपभोक्ता घण्टौँसम्म खाली सिलिन्डर बोकेर लाइनमा बस्न बाध्य भएका छन्। नेपाल आयल निगमले टेकुस्थित कार्यालय परिसरबाट ग्यास बिक्री सुरु गरे पनि आइतबार एक सयभन्दा बढी उपभोक्ता ग्यासका लागि लाइनमा थिए।

टेकुमा ग्यासका लागि लामो लाइन

आइतबार दिउँसो टेकुस्थित निगम कार्यालय परिसरमा कलंकी, थानकोट, चाबहिल, बानेश्वरलगायत क्षेत्रबाट आएका उपभोक्ता खाली सिलिन्डरसहित पालो कुरिरहेका थिए। उनीहरू ग्यास पाउने आशामा घण्टौँदेखि लाइनमा बसेका थिए।

उपत्यकामा ग्यास अभावको गुनासो बढेपछि निगमले शनिबारदेखि टेकु कार्यालय परिसरबाटै ग्यास बिक्री–वितरणको व्यवस्था गरेको हो। १६ साउनदेखि सुरु गरिएको उक्त व्यवस्थाअनुसार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित उद्योगमार्फत नेपाल, एचपी, एभरेस्ट, सुगम र श्रीराम ग्यासका सिलिन्डर बिक्री भइरहेको छ।

प्यानिक बाइङले समस्या

निगमले बजारमा देखिएको अभाव आपूर्तिको वास्तविक समस्या नभई उपभोक्ताको ‘प्यानिक बाइङ’ अर्थात् आवश्यकताभन्दा बढी ग्यास सञ्चित गर्ने प्रवृत्तिका कारण सिर्जना भएको जनाएको छ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार भारतबाट एलपी ग्यासको नियमित आपूर्ति भइरहेको छ। उद्योगबाट बिक्रेता तथा डिलरसम्म ग्यास पुगिरहेको भए पनि लामो समयदेखि खाली सिलिन्डरको संख्या बढेकाले ग्यास पुगेको केही समयमै बिक्री हुने गरेको उनले बताए।

आधा सिलिन्डरको असर

अमेरिका तथा इजराइल–इरान युद्धका कारण आपूर्तिमा असहज अवस्था सिर्जना भएपछि निगमले २९ फागुन २०८२ देखि आधा सिलिन्डर अर्थात् ७.१ केजी ग्यास बिक्री गर्ने निर्णय गरेको थियो।

आपूर्ति सहज भएपछि ३१ असार २०८३ देखि साविककै १४.२ केजीको सिलिन्डर बिक्री सुरु गरिएको थियो। तर, लामो समयदेखि पूरा सिलिन्डरको प्रतीक्षामा रहेका उपभोक्ताले एकैपटक खाली सिलिन्डर बजारमा ल्याउँदा अहिले माग बढेको निगमको भनाइ छ।

ठाकुरका अनुसार आधा सिलिन्डर बिक्री हुँदा खपत पनि सामान्यभन्दा कम भएको थियो। चैतमा ३८ हजार टन, वैशाखमा ३२ हजार टन र जेठमा ३३ हजार टन मात्रै ग्यास खपत भएको उनले बताए।

७–१० दिनमा सहज हुने दाबी

निगमका अनुसार टेकुबाट दैनिक करिब १०० देखि १५० सिलिन्डरसम्म बिक्री भइरहेको छ। आगामी ७ देखि १० दिनमा ग्यासको बिक्री–वितरण सामान्य अवस्थामा फर्किने ठाकुरले बताए।

उनले एउटा मात्रै सिलिन्डर भएका उपभोक्ता बढी प्रभावित भएको भन्दै आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न आग्रह गरे।

आवश्यकताअनुसार मात्र किन्न आग्रह

निगमले शनिबार विज्ञप्ति जारी गर्दै बजारमा १४.२ केजीको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ। ग्यास उद्योगलाई सहज आपूर्ति सुनिश्चित गर्न निर्देशन दिइएको भन्दै निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौज्दात नगर्न आग्रह गरेको छ।

निगमले बिक्रेतालाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिन तथा खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा ग्यास बिक्री–वितरण गर्न निर्देशन दिएको छ।

ग्यास नपाएमा कार्यालय समयभित्र निगमको हटलाइन ०१–५४१९१०२ मा सम्पर्क गर्न सकिने जनाएको छ। निगमले एलपी ग्यासको आयात तथा बिक्री–वितरण नियमित रहेको र आगामी दिनमा पनि आपूर्ति निरन्तर रहने दाबी गरेको छ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  १० : १० बजे