काठमाडौँ । नेपाल प्रहरी पूर्व प्रहरी संगठन प्रमुख मञ्चले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा सांसद खगेन्द्र सुनारले व्यक्त गरेको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै खेद व्यक्त गरेको छ ।
गत बुधबार बसेको लेखा समितिको बैठकमा नेपाल प्रहरीले प्रतिनिधि सभा निर्वाचनका लागि खरिद गरेको पोशाकलगायत विविध विषयमा छलफल भएको थियो । उक्त छलफलका क्रममा सांसद सुनारले प्रहरी महानिरीक्षक दानबहादुर कार्की, गृहसचिव राजकुमार श्रेष्ठ, सशस्त्र प्रहरीका तत्कालीन प्रमुख राजु अर्याल तथा तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल लगायतमाथि भ्रष्टाचारको आरोप लगाएका थिए ।
भ्रष्टाचार पुष्टि नै भइसकेको शैलीमा लाञ्छना लगाएपछि बैठकमा उपस्थित अन्य सांसदहरूले समेत सुनारको शैली र अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए। उनको सो भनाइको चौतर्फी आलोचना भइरहेका बेला पूर्व प्रहरी प्रमुखहरूको छाता संगठनले बिहीबार औपचारिक विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो।
‘संसदीय मर्यादा र पदीय गरिमाविपरीत अभिव्यक्ति’
मञ्चका संयोजक एवं पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहराद्वारा हस्ताक्षरित विज्ञप्तिमा सांसद सुनारको अभिव्यक्ति संसदीय मर्यादा, पदीय गरिमा र सामान्य शिष्टाचारविपरीत रहेको ठहर गरिएको छ।
“नेपाल प्रहरीको नेतृत्व स्थापित कानुनी प्रक्रिया, व्यावसायिक निष्ठा, विज्ञता र इमानदारीका आधारमा चयन हुने संस्थागत पद हो। तसर्थ, कुनै पनि जनप्रतिनिधिबाट राष्ट्रको जिम्मेवार सुरक्षा निकाय र यसको नेतृत्वमाथि पूर्वाग्रही भई निरन्तर रूपमा गरिने व्यक्तिलक्षित टीकाटिप्पणीप्रति यो मञ्च खेद प्रकट गर्दछ,” विज्ञप्तिमा उल्लेख छ।
संस्थाको मर्यादा जोगाउन आग्रह
संसदीय समितिमा राष्ट्रिय तथा जनसरोकारका विषयमा हुने बहस र छलफलको अधिकारलाई मञ्चले पूर्ण सम्मान गर्ने जनाएको छ। तर, देश र जनताको सुरक्षामा अहोरात्र खटिने नेपाल प्रहरी जस्तो गरिमामय संगठन र यसको नेतृत्वमाथि तथ्यहीन, अपमानजनक र नकारात्मक भाष्य निर्माण गर्ने प्रयास कुनै पनि दृष्टिकोणबाट न्यायसंगत हुन नसक्ने मञ्चको निष्कर्ष छ।
सांसद जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाट आउने यस्ता अमर्यादित अभिव्यक्तिले संसदीय व्यवस्थाकै शाखमाथि प्रश्नचिह्न खडा गर्ने जोखिम रहने विज्ञप्तिमा चेतावनी दिइएको छ। मञ्चले सांसद सुनारलाई आफ्नो भाषाशैली र व्यवहारमा सुधार गर्दै पदीय गाम्भीर्यता मनन गर्न र भविष्यमा यस्ता मनोगत अभिव्यक्ति नदोहोर्याउन आग्रह गरेको छ।









