प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठकमा उपस्थित प्रहरी महानिरीक्षक दानबहादुर कार्की सांसदका आरोपप्रति तीव्र आक्रोशित बनेका छन् । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले प्रहरीको पोसाक र लाठी खरिदमा अनियमितता, आईजीपी कार्कीको घरमा भएको चोरी र चोर्ने व्यक्तिलाई यातना दिएको जस्ता गम्भीर आरोप लगाएपछि कार्कीले बैठकमा कडा आपत्ति जनाएका हुन् ।
आक्रोश व्यक्त गर्दै महानिरीक्षक कार्कीले निष्ठापूर्वक काम गरिरहेको सुरक्षा निकायलाई बिनाआधार जे मन लाग्यो त्यही भन्ने थलो समिति हुन नसक्ने भन्दै बैठकको मर्यादाबारे प्रश्न उठाए ।
“हामी कस्ता मानिसबाट शासित भइरहेका छौँ?” भन्दै उनले काम गर्नुभन्दा मञ्चमा बसेर गालीगलौज र क्रान्ति गर्नु धेरै सजिलो हुने व्यङ्ग्यसमेत गरे । प्रहरीलाई घिसार्ने धम्की र अभिव्यक्ति दिने मानसिकतामाथि चिन्ता व्यक्त गर्दै उनले प्रहरी कर्मचारी पनि नागरिक नै भएकाले यस्तो व्यवहारले मनोबल गिराउने उल्लेख गरे ।
सो क्रममा आईजीपी कार्कीले अघिल्लो वर्ष भदौमा भएको जेनजी आन्दोलनका क्रममा ५९३ वटा सवारी साधन र कयौँ प्रहरी चौकी जलेको स्मरण गराउँदै अभावका बिच पनि प्रहरीले शान्ति सुरक्षा कायम राखेको तथ्यांक पेस गरे ।
अहिले पनि १,३०० भन्दा बढी प्रहरी चौकीको आफ्नै भवन र सवारी साधन नरहेको अवस्थामा नीति निर्माण तहबाट भौतिक पूर्वाधार, जग्गा र साधन उपलब्ध गराउन बहस हुनुपर्नेमा उल्टै झूटा आरोप लगाइएको भन्दै उनले असन्तुष्टि जनाए ।







