काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गर्न लागेको तीन दिने ‘राष्ट्रिय भेला’को सम्पूर्ण तयारी पूरा भएको छ । काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा साउन २९ देखि ३१ गतेसम्म सञ्चालन हुने उक्त भेलाको शुक्रबार बिहान साढे ११ बजे भव्य उद्घाटन गरिने कार्यक्रम छ ।
करीब ६ महिना सिंगापुर र हङकङमा उपचार गराएर बिहीबार स्वदेश फर्किएका कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा भेलाका प्रमुख अतिथि रहनेछन् । स्वदेश फर्किनासाथ देउवा विमानस्थलबाट सिधै इतर पक्षले महाराजगन्जको चुनदेवीमा स्थापना गरेको सम्पर्क कार्यालय पुगेका थिए । गत पुस २७ देखि ३१ गतेसम्म सम्पन्न विशेष महाधिवेशनको विपक्षमा उभिएका नेताहरूले वर्तमान सभापति गगन थापामाथि दबाब बढाउने रणनीतिका साथ यो भेला आयोजना गरेका हुन् ।
भेलाका संयोजक एवं पूर्वमहामन्त्री शशांक कोइरालाको अध्यक्षतामा हुने उद्घाटन समारोहमा शेखर कोइराला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार र कृष्णप्रसाद सिटौलालगायतका शीर्ष नेताहरू विशिष्ट अतिथिका रूपमा सहभागी हुनेछन् ।
५५ सय कुर्सी, डिजिटल बोर्ड र खानपिनको व्यवस्था
प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार भेलामा करिब ४५ सय नेता तथा कार्यकर्ताको सहभागिता रहने अनुमान गरिएको छ । भेला स्थलमा आउटडोर र हल गरी ५५ सय कुर्सीको व्यवस्था मिलाइएको छ भने मञ्चमा देउवा र कोइरालाका लागि विशेष कुर्सी राखिएको छ । मिराकल पार्टी भेन्युका सञ्चालक गोपाल कँडेलले हल निःशुल्क उपलब्ध गराएको जानकारी दिएका छन् ।
उद्घाटन सत्रमा अतिथिहरूको सम्बोधन सजिलै सुन्न र देख्नका लागि मञ्चको अगाडि-पछाडि ६ वटा डिजिटल बोर्ड जडान गरिएको छ । सहभागी प्रतिनिधिलाई शनिबार र आइतबार दुई दिन बिहान र साँझको खानाको व्यवस्था ओमसाई क्याटरिङमार्फत मिलाइएको भोजन व्यवस्थापन उपसमितिका संयोजक पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले बताए। यद्यपि, बसाइको व्यवस्था भने सहभागीहरू स्वयंले गर्नुपर्नेछ ।
शक्ति प्रदर्शन र नीतिगत बहस
पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले साउन २१ गते पुनः सुनुवाइका लागि निस्सा (अनुमति) दिएपछि यो भेलालाई इतर पक्षले नीति सम्मेलन र शक्ति प्रदर्शनको रूपमा अघि बढाएको छ ।
शनिबार बिहान ९ बजेदेखि सुरु हुने बन्दसत्रमा विभिन्न महत्त्वपूर्ण प्रतिवेदनहरू पेस हुनेछन्:
राजनीतिक प्रतिवेदन: पूर्वउपसभापति विमलेन्द्र निधि र नेता एनपी साउदद्वारा पेस गरिने, जसमा गत फागुन २१ को निर्वाचनमा कांग्रेसले भोगेको पराजय र विशेष महाधिवेशनको प्रभावबारे समीक्षा गरिनेछ ।
आर्थिक दृष्टिकोण: प्रकाशशरण महत
सांगठनिक प्रस्ताव: उमाकान्त चौधरी
विधान संशोधन प्रस्ताव: नेता रमेश लेखक (विशेष महाधिवेशनमा गरिएको विधान संशोधनलाई चुनौती दिने गरी तयार पारिएको) ।
पार्टी एकता र नयाँ कार्यदिशाको सन्देश
इतर पक्षका नेताहरूले यो भेलाले पार्टीभित्र एकताको नयाँ वातावरण सिर्जना गर्ने दाबी गरेका छन् । नेता शेखर कोइरालाले भेलामार्फत पार्टी एकताको उद्घोष गरिने बताएका छन् भने पूर्वउपसभापति पूर्णबहादुर खड्काले उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरी फर्किएका देउवाले अब पार्टीलाई एकजुट बनाउन निर्णायक र अभिभावकीय भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
भेलालाई व्यवस्थित बनाउन जितजंग बस्नेत (स्वयंसेवक), दीपक खड्का (आर्थिक), मोहनबहादुर बस्नेत (प्रशासन), विद्या तिमिल्सिना (सांस्कृतिक) र विभिन्न क्षेत्र तथा प्रदेश समन्वय समितिहरू क्रियाशील रहेका छन् ।









