२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

जनआस्था कार्यालयमा प्रहरी प्रवेश गरी सञ्चार सामग्री जफत गरेको घटनाप्रति महासंघको आपत्ति



काठमाडौं । नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायत सञ्चार सामग्री नियन्त्रणमा लिएर जफत गरेको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।

महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रहरीको उक्त कदमको विरोध गरेको हो। महासंघले संविधानको धारा १९(२) ले कुनै समाचार, लेख, सम्पादकीय, रचना, सूचना वा अन्य सामग्री प्रकाशन वा प्रसारण गरेकै आधारमा सञ्चारमाध्यमलाई बन्द, जफत वा दर्ता खारेज गर्न तथा त्यस्तो सामग्री जफत गर्न नपाइने व्यवस्था गरेको स्मरण गराएको छ।

‘यो संवैधानिक प्रावधानको ठाडो उल्लंघन गर्दै सम्पादकीय कक्षमा हातहतियारसहित प्रहरी प्रवेश गरी सञ्चार उपकरण र सामग्री नियन्त्रणमा लिई जफत गर्नु पहिलो दृष्टिमै संविधानप्रदत्त प्रेस स्वतन्त्रता र सञ्चारको हकमाथिको गम्भीर हस्तक्षेप हो,’ महासंघले भनेको छ।

समाचार स्रोतमा पहुँच राख्न सरकारले अपनाएको यस्तो शैली असंवैधानिक र गैरकानुनी भएको महासंघको ठहर छ। यसले प्रेस स्वतन्त्रतासँगै नागरिकको सूचनाको हकमाथि समेत प्रत्यक्ष असर पार्ने महासंघले जनाएको छ।

राज्यबाट संवैधानिक हकमाथि भएको अतिक्रमणको घोर निन्दा र भर्त्सना गर्दै महासंघले जफत गर्ने नियतले नियन्त्रणमा लिइएका सञ्चार सामग्री तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ। साथै, समाचार स्रोत र सम्पादकीय सामग्रीको गोपनीयता पूर्ण रूपमा सुरक्षित गर्न पनि आग्रह गरेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जफत गर्ने नियतले नियन्त्रणमा लिइएका सञ्चार सामग्री अविलम्ब फिर्ता गरी संविधानको पालना गर्न, समाचार स्रोत र सम्पादकीय सामग्रीको गोपनीयता पूर्ण रूपमा सुरक्षित गर्न राज्यसँग जोडदार माग गर्दछ।’

यसैबीच, महासंघ अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको टोलीले शुक्रबार जनआस्था साप्ताहिकको कार्यालय निरीक्षण गरेको छ। टोलीले प्रहरीद्वारा नियन्त्रणमा लिइएका सामग्री तथा त्यसबाट पत्रिकाको प्रकाशनमा परेको असरबारे जानकारी लिएको महासंघले जनाएको छ।

महासंघले पत्रकारको सूचनाको पहुँचमा राज्य संयन्त्रको दुरुपयोग गरी गरिएको नियन्त्रणविरुद्ध उभिन सबै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर नागरिक समुदायलाई समेत आग्रह गरेको छ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  १० : ०२ बजे