२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

तीन महिनापछि केयूले पायो उपकुलपति, प्राडा विवेक बराल नियुक्त



काठमाडौं । तीन महिनापछि काठमाडौँ विश्वविद्यालय (केयू)ले नयाँ उपकुलपति पाएको छ। विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार प्राडा विवेक बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित छनोट समितिले उपकुलपतिका लागि बरालसहित प्राडा बालचन्द्र लुइटेल र प्राडा राजेन्द्र जोशीको नाम सिफारिस गरेको थियो। तीनै जना केयूका प्राध्यापक हुन्।

सरकारले गत वैशाखमा अध्यादेशमार्फत तत्कालीन उपकुलपति प्राडा अच्युत वाग्लेलाई पदबाट हटाएपछि जेठ १९ गते बसेको केयू सभाले उपकुलपति छनोट समिति गठन गरेको थियो। समितिमा केयूका पूर्वउपकुलपति प्राडा सुरेशराज शर्मा र राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रेशु अर्याल ढुंगाना सदस्य थिए।

शिक्षा मन्त्रालय स्रोतका अनुसार बराल सिफारिस सूचीको पहिलो नम्बरमा थिए। उनको नाम प्रधानमन्त्री कार्यालयमा पुगे पनि उनीमाथि नैतिक तथा आर्थिक अनियमिततासम्बन्धी प्रश्न उठेपछि नियुक्ति प्रक्रिया केही समय रोकिएको थियो। शिक्षामन्त्री पोखरेलले समेत सिफारिस भएका व्यक्तिमाथि प्रश्न उठेपछि अनुसन्धान सुरु गरिएको बताएका थिए। यद्यपि अनुसन्धानको विस्तृत निष्कर्ष सार्वजनिक नभएकै अवस्थामा बराललाई उपकुलपतिमा नियुक्त गरिएको छ।

विद्यार्थीबाट उपकुलपतिसम्म

विराटनगरका बराल केयूको दोस्रो ब्याचका इन्जिनियरिङ संकायका विद्यार्थी हुन्। केयूमा अध्ययन गरेर त्यही विश्वविद्यालयको उपकुलपति बन्ने उनी पहिलो व्यक्ति हुन्।

२०५२ सालमा इन्जिनियरिङ अध्ययनका लागि काठमाडौं आएका बरालले २०५६ सालमा इन्जिनियरिङ उत्तीर्ण गरेका थिए। त्यसपछि केयूमा नै अध्यापन सुरु गरेका उनी सन् १९९९ मा लेक्चररका रूपमा विश्वविद्यालय प्रवेश गरेका थिए। सन् २०१८ मा प्राध्यापक बनेका बरालले केयूमा अध्यापन गरेको २७ वर्षभन्दा बढी भइसकेको छ। उनी केयू प्राध्यापक संघका पूर्वसभापतिसमेत हुन्।

उनको विशेषज्ञता इन्धन तथा ऊर्जा, दहन विज्ञान तथा वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ र कम्प्युटेसनल फ्लुइड डाइनामिक्समा छ। जापानको टोकियो विश्वविद्यालयबाट उनले मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेका हुन्।

उपकुलपति बनेपछि विश्वविद्यालयको विकासलाई निरन्तरता दिने आफ्नो मुख्य प्राथमिकता रहेको बरालले बताएका छन्। आफू विद्यार्थीका रूपमा केयू प्रवेश गर्दाको अवस्था स्मरण गर्दै उनले विश्वविद्यालयलाई थप विद्यार्थीकेन्द्रित र आधुनिक बनाउने योजना सुनाए।

बरालले ‘आउटकम बेस्ड लर्निङ’ मा जोड दिँदै पढाइ पूरा गरेपछि विद्यार्थीले हासिल गरेको ज्ञान र सीपको परिणाम पहिचान हुने शिक्षण प्रणाली विकास गर्ने बताए। विद्यार्थीहरू कक्षाकोठाबाहिर बसेर छलफल र सहकार्य गर्न सक्ने विद्यार्थीकेन्द्रित भवन निर्माणलाई पनि उनले प्राथमिकतामा राखेका छन्।

बेरुजु विवादबारे बरालको स्पष्टीकरण

केयू कन्सल्ट्यान्टको प्रबन्ध निर्देशक रहेका बेला विश्वविद्यालय तथा धुलिखेल अस्पताल निर्माणसँग सम्बन्धित काममा बेरुजु रकम फछ्र्यौट नगरेको आरोप बरालमाथि लागेको थियो। यही विषयका कारण उनको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको थियो।

तर बरालले उक्त बेरुजु आफ्नो व्यक्तिगत नभई संस्थागत भएको दाबी गरेका छन्। विश्वविद्यालय प्रशासनको प्राविधिक त्रुटिका कारण काम सम्पन्न भए पनि विवरण दाखिला नभएकाले बेरुजु देखिएको उनको भनाइ छ।

‘व्यक्तिगत रूपमा मैले लिएको होइन। काम सम्पन्न भइसकेपछि विवरण नमिलाएका कारण यस्तो देखिएको हो,’ उनले भने।

बरालले आफूले व्यक्तिगत रूपमा बेरुजु राखेको भए विश्वविद्यालयले कारबाही गरिसक्ने दाबी गर्दै आफूमाथि केही कर्मचारीको पूर्वाग्रहका कारण आरोप लगाइएको जिकिर गरे।

एडीबी ऋणभन्दा आफ्नै स्रोतमा अस्पताल निर्माणको जोड

वाग्ले पदमुक्त भएपछि धुलिखेल अस्पताल निर्माण परियोजनाबाट एसियाली विकास बैंक (एडीबी) पछि हट्न सक्ने संकेत देखिएको केयूका पदाधिकारीले बताएका छन्। एडीबीसँग ४५० शय्याको अस्पताल पनौतीमा निर्माण गर्ने योजनासहित प्रारम्भिक प्रतिबद्धता र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको प्रक्रिया अघि बढाइएको थियो।

तर वाग्ले हटेपछि शिक्षण अस्पताल परियोजनासम्बन्धी काम अघि बढ्न नसकेको अस्पताल स्रोतको भनाइ छ। एडीबीले पनि ‘ड्यु डिलिजेन्स’ प्रक्रिया पूरा गर्न केयूलाई पत्राचार गरेको थियो।

नवनियुक्त उपकुलपति बराल भने अस्पताल निर्माणका लागि ऋणलाई प्राथमिकता दिन नहुने पक्षमा छन्। उनका अनुसार केयू आफैँ सक्षम भएर अस्पताल निर्माण गर्ने वा दाताको सहयोग जुटाउने विकल्पलाई प्राथमिकता दिनुपर्छ।

‘लोन लिनुलाई मैले अन्तिम विकल्पमा राखेको छु। बरु दाता खोजेर बनाउने। तर लोनलाई प्राथमिकतामा राख्नु हुँदैन,’ उनले भने।

एआईदेखि आर्थिक सबलीकरणसम्म चुनौती

बरालले केयूको शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगलाई व्यवस्थित बनाउनु आफ्नो कार्यकालको प्रमुख चुनौतीमध्ये एक रहेको बताएका छन्। विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरिरहेको अवस्थामा त्यसलाई शिक्षण प्रणालीसँग कसरी व्यवस्थित रूपमा जोड्ने भन्ने विषयमा विश्वविद्यालयले स्पष्ट नीति बनाउनुपर्ने उनको भनाइ छ।

त्यसैगरी केयूको शैक्षिक उत्कृष्टतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने, अनुसन्धानलाई केवल प्रकाशनमा सीमित नराखी समाज र अर्थतन्त्रमा प्रभाव पार्ने अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने चुनौती पनि उनले औँल्याएका छन्।

विश्वविद्यालय प्रशासनलाई पारदर्शी, प्रविधिमैत्री र जवाफदेही बनाउने तथा सक्षम प्राध्यापक र अनुसन्धानकर्तालाई आकर्षित गरी टिकाइराख्ने वातावरण निर्माण गर्नु पनि आफ्नो प्राथमिकता रहेको बरालले बताए।

केयूलाई आर्थिक रूपमा सबल बनाउनु अर्को महत्वपूर्ण चुनौती रहेको उनको भनाइ छ। विश्वविद्यालयको शैक्षिक तथा भौतिक विकासलाई निरन्तरता दिँदै आर्थिक रूपमा दिगो संस्थाका रूपमा अघि बढाउने लक्ष्य उनले लिएका छन्।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  १० : ०८ बजे