काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद समाधान हुन नपाउँदै १५औँ महाधिवेशनको विषय पनि सर्वोच्च अदालतमा पुगेको छ। पार्टीभित्र संस्थापन र इतर पक्षबीच संवादमार्फत सहमति खोज्ने प्रयास असफल भएपछि कांग्रेसको आन्तरिक विवाद फेरि कानुनी लडाइँतर्फ मोडिएको हो।
गत पुस २७ देखि ३१ गतेसम्म सम्पन्न विशेष महाधिवेशनपछि विभाजित कांग्रेसमा पार्टीको आधिकारिकता विवाद चर्किएको थियो। निर्वाचन आयोगले माघ २ गते विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका थिए।
गत वैशाख ४ गते सर्वोच्चको संयुक्त इजलासले निर्वाचन आयोगको निर्णय सदर गरे पनि देउवा पक्षले त्यसविरुद्ध पुनरवलोकनको निवेदन दिएको थियो। सर्वोच्चको पूर्ण इजलासले पुनरवलोकनका लागि निस्सा दिएपछि आधिकारिकता विवादमाथि पुनः सुनुवाइ हुने भएको छ। अदालतले कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा निर्वाचन आयोगलाई समेत म्याद पठाइसकेको छ।
यहीबीच सभापति थापाले १५औँ महाधिवेशनको तयारी अघि बढाएपछि देउवा पक्ष थप असन्तुष्ट बनेको छ।
महाधिवेशन रोक्न देउवा पक्ष अदालत जाने
बिहीबार महाराजगन्जस्थित डा. शशांक कोइरालाको निवासमा बसेको संस्थापन इतर पक्षका शीर्ष नेताहरूको बैठकले १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेको छ।
संस्थापन इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टाछुट्टै रिट दायर गर्ने तयारी गरेका छन्।
‘महाधिवेशन रोक्न माग गर्दै अदालतमा निवेदन दिने निर्णय भएको छ। शुक्रबारसम्म निवेदन दर्ता हुन्छ,’ विश्वकर्माले भने।
आधिकारिकता विवादमा पुनरवलोकनका लागि निस्सा दिइसकेको सर्वोच्चले उक्त मुद्दाको अन्तिम टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि नबढाउन आदेश दिने विश्वास देउवा पक्षको छ।
विश्वकर्माका अनुसार यसअघि नै सर्वोच्चको फैसला नआएसम्म महाधिवेशन प्रक्रिया अघि नबढाउन ध्यानाकर्षण गराइए पनि त्यसको सुनुवाइ नभएपछि अदालत जानुपर्ने अवस्था आएको हो।
देउवा स्वदेश फर्किएपछि पनि संवाद हुन सकेन
निवर्तमान सभापति शेरबहादुर देउवा साढे पाँच महिनाको सिंगापुर–हङकङ बसाइपछि साउन २८ गते स्वदेश फर्किएका थिए। उनी स्वदेश फर्किएपछि कांग्रेसमा संवादमार्फत विवाद समाधानको वातावरण बन्ने अपेक्षा गरिएको थियो।
देउवा इतर पक्षले साउन २९ देखि ३१ गतेसम्म आयोजना गरेको राष्ट्रिय सम्मेलनमा समेत सहभागी भएका थिए। अहिले उनी महाराजगन्जस्थित निवासमा छन्।
तर, कांग्रेस नेता प्रकाशशरण महतका अनुसार सभापति गगन थापा र देउवा पक्षबीच पछिल्लो समय संवाद भएको छैन।
‘अहिले संवाद केही छैन। हामी आन्तरिक छलफलमा छौँ। अदालतमा मुद्दा विचाराधीन रहँदा संवादको पनि अर्थ छैन,’ महतले भने।
संस्थापन पक्ष भन्छ– संवादबाटै समाधान खोजिन्छ
यता सभापति गगन थापा पक्षले भने पार्टीभित्रको विवाद संवादबाटै समाधान गर्ने प्रयास भइरहेको जनाएको छ।
कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीले आन्तरिक विवाद समाधानका लागि महाधिवेशनको कार्यतालिका केही दिन पछाडि सारिएको दाबी गरे।
‘हामी पार्टीको आन्तरिक विवाद संवादमार्फत नै हल गर्न चाहन्छौँ। त्यसका लागि महाधिवेशनको प्रक्रिया केही दिन पर सारिएको हो। सभापतिले नेताहरूसँग संवाद पनि गरिराख्नुभएको छ,’ उनले भने।
चौधरीले पटक–पटक पार्टीको विवाद अदालतमा पुर्याउँदा सहमतिको वातावरण प्रभावित भइरहेको समेत बताए।
असोज १६–१९ मा केन्द्रीय महाधिवेशन
कांग्रेस केन्द्रीय समितिले निर्धारित समयमै १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। गत चैत ११ गते बसेको केन्द्रीय समिति बैठकले भदौ २ देखि असोज १९ गतेभित्र महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको थियो।
पछि निर्वाचन समितिले कार्यतालिका परिमार्जन गर्दै असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तय गरेको छ।
निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार भदौ २ देखि १० गतेसम्म काठमाडौं उपत्यका र बाहिर निर्वाचन अधिकृतलाई अभिमुखीकरण तालिम दिइनेछ। भदौ ११ गते निर्वाचन अधिकृतलाई जिल्लामा खटाउने तथा भदौ १५ गते वडामा निर्वाचन प्रतिनिधि पठाउने कार्यतालिका छ।
भदौ १६ देखि २० गतेसम्म वडामा अभिमुखीकरण तालिम सञ्चालन हुनेछ।
भदौ २४ गते गाउँ–नगर वडा अधिवेशन र भदौ २७ गते गाउँ–नगरपालिका अधिवेशन गर्ने तयारी छ। भदौ ३१ गते प्रदेश निर्वाचन क्षेत्र, असोज ३ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका छ।
त्यसैगरी असोज ७ गते जिल्ला र असोज १० गते प्रदेश अधिवेशन हुनेछ। केन्द्रीय महाधिवेशन भने असोज १६, १७, १८ र १९ गते गर्ने तयारी छ।
विदेशस्थित जनसम्पर्क समितिहरूको महाधिवेशनसमेत भदौ मसान्तभित्र सम्पन्न गर्ने कार्यतालिका निर्वाचन समितिले बनाएको छ।
निर्वाचन समिति तयारीमा
महाधिवेशनको विवाद अदालत पुगे पनि कांग्रेस निर्वाचन समितिले भने आफ्नो तयारीलाई तीव्रता दिएको छ। जिल्ला तहमा खटाइएका निर्वाचन अधिकृतहरूलाई अभिमुखीकरण तालिम सञ्चालन भइरहेको छ।
निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले अधिवेशनसम्बन्धी विषयमा शनिबार अपराह्न ४ बजे निर्वाचन अधिकृतहरूसँग जुममार्फत छलफल गरिने जानकारी दिए।
उनका अनुसार निर्वाचन समितिले निर्धारित समयभित्र तल्लो तहदेखि केन्द्रीय महाधिवेशनसम्मका प्रक्रिया सम्पन्न गर्ने गरी तयारी अघि बढाइरहेको छ।
१५३ सदस्यीय कार्यसमिति
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमिति हाल १५३ सदस्यीय छ। विशेष महाधिवेशनबाट १३३ सदस्यीय कार्यसमिति चयन भएको थियो। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पदेन सदस्य छन्।
विशेष महाधिवेशनमा सहभागी नभएका तत्कालीन सभापति शेरबहादुर देउवा तथा नेता शेखर कोइराला पक्षका १९ जनालाई सभापति थापाले केन्द्रीय सदस्य मनोनीत गरेका थिए।
विशेष महाधिवेशन सम्पन्न भएको एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने वैधानिक व्यवस्थाका कारण कांग्रेसले पुसभित्र १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ। तर, आधिकारिकता विवादमा सर्वोच्च अदालतको आदेश र त्यसले तोकेको समयसीमाका कारण असोजभित्रै महाधिवेशन गर्नुपर्ने दबाबमा आफूहरू रहेको सभापति थापाले बताउँदै आएका छन्।
अब कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरवलोकन सुनुवाइ र १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा पक्षबाट दायर हुने रिट दुवै मुद्दाले पार्टीको आगामी राजनीतिक दिशा निर्धारण गर्ने देखिएको छ।









