१६ भाद्र २०८३, मंगलबार | Wed Sep 2 2026

भोटेकोसी बाढीपहिरोबाट १६ लाख मानिस प्रभावित, ९८७ जनाको मृत्यु पुष्टि: सरकारी प्रतिवेदन



भदौ १० गते नेपाल–चीन सीमा नजिकै गएको विनाशकारी हिमपहिरो र त्यसपछिको बाढीका कारण करिब १६ लाख मानिस प्रभावित भएको सरकारले सार्वजनिक गरेको पहिलो स्थिति प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले मंगलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार भोटेकोशी–त्रिशूली नदी करिडोरमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ । प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ भने धादिङ, गोर्खा र चितवनलाई मध्यम रूपमा प्रभावित जिल्लाका रूपमा सूचीकृत गरेको छ ।

हालसम्म बाढीपहिरोमा परी ९८७ जनाको मृत्यु पुष्टि भइसकेको छ । मृत्यु हुनेहरुमा सबैभन्दा बढी शव चितवनमा ३२१ जनाको भएको छ भने नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोर्खामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको फेला परेको छ । देशका ६२ जिल्लाबाट जम्मा ३,९१६ जना बेपत्ता भएको विवरण प्राप्त भएको छ, जसमध्ये ६२ प्रतिशत स्वदेशी पर्यटक तथा नेपालीसहितको समूह, १७ प्रतिशत सरकारी कर्मचारी र १५ प्रतिशत विदेशी नागरिक रहेका छन् ।

उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी कुल २१,०११ सुरक्षाकर्मीका साथै भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भएका छन् ।

हालसम्म ११ हजार ८१४ जनाको सकुशल उद्धार गरिएको छ, जसमध्ये २५३ जना विदेशी नागरिक रहेका छन् भने ५७३ वटा हवाई उडानमार्फत ३,७०२ जनाको हवाई उद्धार गरिएको छ । स्वास्थ्य संस्थाहरूमा २७९ जना घाइतेको उपचार भएकोमा १६८ जना डिस्चार्ज भइसकेका छन् भने ७९ जनाको उपचार जारी छ। नेपाली सेनाले प्रभावित क्षेत्रमा थप २,७४० जनालाई प्रत्यक्ष स्वास्थ्य उपचार प्रदान गरेको छ।

बाढीले पूर्वाधार र सञ्चार क्षेत्रमा पनि ठूलो क्षति पुर्‍याएको छ । ४१ वटा पक्की पुल पूर्ण रूपमा बगेका छन् भने थप ४ वटा पुलमा क्षति पुगेको छ। नुवाकोटमा १,२६७ घर पूर्ण रूपमा र १,२५३ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने स्याटेलाइट म्यापिङ अनुसार ४,६८९ भवन बाढीको जोखिममा परेका छन्। रसुवाका गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका ३,७०२ घरधुरीका १४,४६१ नागरिक ६ दिनदेखि सडक, विद्युत् र सञ्चार सेवाबाट विच्छेद भई अलपत्र छन्। नेपाल टेलिकमका ११० र एनसेलका ७८ वटा टावरमा क्षति पुगेको छ भने उत्तरगयाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक र पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्।

ऊर्जा, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि विपद्को व्यापक असर परेको छ। रसुवागढी, चिलिमे, माथिल्लो त्रिशूली–१ सहित प्रमुख जलविद्युत् र सोलार गरी कुल ७८३.३८५ मेगावाट जडित क्षमताका आयोजना, सबस्टेसन तथा ट्रान्समिसन लाइन प्रभावित भएका छन्। रसुवा, नुवाकोट र धादिङका १९ विद्यालयका ६,९०१ विद्यार्थी प्रभावित भएका छन्, जसमध्ये १६ वटा विद्यालयमा क्षति पुगेको छ। रसुवाका स्याफ्रुबेँसी, टिमुरे स्वास्थ्य चौकी र मैलुङ सामुदायिक स्वास्थ्य एकाइ पूर्ण रूपमा ध्वस्त भएका छन्। यसका साथै विदुर खानेपानी आयोजनाको पाइपलाइन बग्दा ४ हजार घरधुरी प्रभावित भएका छन् भने लाङटाङ राष्ट्रिय निकुञ्जका कार्यालय, कृषि विकास केन्द्र र प्लान्ट क्वारेन्टाइनका भवनहरूमा समेत क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  १० : १३ बजे