प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा आगामी असोज ८ गते (२४ सेप्टेम्बर) सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। नेपालबाट प्रस्ताव गएपछि राष्ट्रसंघले वक्ताहरूको सूची संशोधन गर्दै असोज ८ गतेका लागि सम्बोधनको संशोधित तालिका उपलब्ध गराएको हो। न्युयोर्कस्थित नेपाली मिसनबाट परराष्ट्र मन्त्रालय हुँदै प्राप्त उक्त समय तालिकाका आधारमा प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारी तीव्र पारिएको छ। राष्ट्रसंघको परिमार्जित सूची अनुसार २४ सेप्टेम्बरको दिउँसो ३ देखि ९ बजेसम्म १८ देशका नेताले सम्बोधन गर्नेछन्, जसको १७औँ नम्बरमा नेपालका सरकार प्रमुखको प्रस्तुति रहनेछ।
भदौ १० मा रसुवाको भोटेकोसीमा आएको महाविपत्तिपछि प्रधानमन्त्री शाह आफैँ महासभामा सहभागी हुने निर्णयमा पुगेका हुन्। यसअघि भदौ ३ को मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको भए पनि जलवायु परिवर्तनका कारण भोटेकोसीजस्तो विपद् भोग्नुपरेकाले त्यसको क्षतिपूर्ति र न्यायको मुद्दा उठाउन प्रधानमन्त्री आफैँ जान लाग्नुभएको हो। प्रधानमन्त्री बनेको पाँच महिनामा शाहको यो नै पहिलो विदेश भ्रमण हुनेछ।
देश विपद्पछिको उद्धार र राहत व्यवस्थापनको चरणमा रहेकाले प्रधानमन्त्री शाहको भ्रमण सकेसम्म छोटो बनाउने तयारी छ। जसका कारण महासभामा सम्बोधन गरेर प्रधानमन्त्री लगत्तै फर्किने सम्भावना छ भने अन्य द्विपक्षीय ‘साइडलाइन’ भेटवार्ताहरूको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्नेछन्। छिमेकी मुलुक भारतबाट विदेशमन्त्री एस जयशंकर र चीनबाट उपराष्ट्रपति हान चङ महासभामा सहभागी हुने भएकाले सरकार प्रमुखकै तहमा न्युयोर्कमा द्विपक्षीय भेट हुने सम्भावना कम देखिएको छ।
प्रधानमन्त्री नेतृत्वको भ्रमण टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यका साथै परराष्ट्र सचिव अमृतबहादुर राई, महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, शिष्टाचार महापाल कुमारराज खरेल र राष्ट्रसंघीय नियोग प्रमुख लोकबहादुर थापा सहभागी हुनेछन्।









