काठमाडौँमा बसोबास गर्दै आएका दाजुभाइ आशिष र अनिश श्रेष्ठका लागि गत १० भदौमा आएको भोटेकोशीको विनाशकारी बाढीले बज्रपात ल्यायो। नुवाकोटको बेत्रावतीमा बस्दै आएका वृद्ध बुवा-आमासहित घर नै बाढीले बगाएपछि परिवारले आठ दिनसम्म लगातार खोजतलास गर्यो। तर, कुनै अत्तोपत्तो नभएपछि अन्ततः तीन दिनअघि कुशको शव बनाएर दाहसंस्कार गरियो र गत बिहीबारदेखि दुवै छोराहरू आमा-बुवा फर्कने आशा मारेर किरियापुत्रीका रूपमा काजकिरियामा बसे।
तर, शनिबार बिहान ११ औँ दिनको काजकिरिया चलिरहेका बेला एकाएक नसोचेको खबर आयो— बाढीले पुरिएको घरभित्र ६४ वर्षीया आमा चण्डिका श्रेष्ठ सकुशल भेटिइन्। सुरूमा पत्याउनै गाह्रो परेको यो खबर पछि निरन्तर फोन आएर पुष्टि भएपछि किरियाघरमा खुसी र आश्चर्यको माहोल छायो। आमा सकुशल भेटिएपछि पुरोहितले विधि पुर्याएर छोराहरूको काजकिरिया फुकुवा गराएका छन् र दुवै छोराहरूले किरियाघर छाडेका छन्।
बाढीले घरसहित ५० मिटर पर पुर्याएको थियो
स्थानीय नारायणलाल डंगोलका अनुसार चण्डिकाको घर साविकको स्थानभन्दा बाढीले बगाएर करिब १२० मिटर पर (डंगोलको घरभन्दा ५० मिटर पर) पुर्याएको थियो। शनिबार पुरिएको त्यही घरभित्रबाट मानिसको आवाज आएपछि विदुर नगरपालिका-१० का वडा सदस्य मङ्गल तामाङसहितको टोलीले उद्धारको पहल गरेको थियो। सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनको सकुशल उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाएको छ।
चण्डिकाका श्रीमान् आनन्द श्रेष्ठ भने अझै बेपत्ता छन्। बेत्रावती लाखे क्लबका अध्यक्ष शशी डंगोलका अनुसार अस्पतालबाट डिस्चार्ज भएपछि चण्डिकाको स्वास्थ्यमा सुधार आएका आधारमा श्रीमान् नभेटिएमा पुनः काजकिरिया गर्ने तयारी परिवारको छ।
सबै घरमा खोजतलास गर्न स्थानीयको माग
बाढीले बगाएको र पुरिएको घरमा ११ औँ दिनपछि पनि मानिस जीवितै भेटिएपछि स्थानीय बासिन्दाहरूले सरकारसँग बेत्रावतीका प्रत्येक घरमा पुनः घनीभूत खोजी तथा उद्धार गर्न माग गरेका छन्। बेत्रावतीमा नेवार समुदायका मात्रै २३० भन्दा बढी घरहरू रहेका र बाढीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेकोले अझै पनि भत्किएका घरहरूभित्र मानिसहरू जीवितै हुन सक्ने आशा स्थानीयले व्यक्त गरेका छन्।









