भोटेकोसी बाढीपछि चर्चा र विवादमा आएको गैरसरकारी संस्था ‘ग्रिन आर्मी’लाई ३५ दिनभित्र नाम परिवर्तन गर्न कम्पनी रजिस्ट्रारको कार्यालयले पत्राचार गरेको छ । गृह मन्त्रालयको निर्णय र निर्देशनका आधारमा रजिस्ट्रारको कार्यालयले सोमबार पत्र पठाउँदै नियमावली र प्रबन्धपत्रका उद्देश्य संशोधन गर्न भनेको हो।
संस्थाका प्रमुख सविन शर्माका अनुसार सर्वसाधारणबाट प्रश्न उठेकाले ‘आर्मी’ शब्द हटाउनेबारे सञ्चालक समितिमा पहिल्यै छलफल भइसके पनि नयाँ नामको अन्तिम टुंगो भने लागिसकेको छैन। नेपालको संविधान र प्रचलित कानुनविपरीत ‘आर्मी’ शब्द प्रयोग गरी दर्ता भएको भन्दै गृह मन्त्रालयले ध्यानाकर्षण जनाएपछि कम्पनी रजिस्ट्रारकी रजिस्ट्रार कृष्णकुमारी श्रेष्ठले पत्र जारी गरी ३५ दिनभित्र कानुनबमोजिम संशोधन गर्न निर्देशन दिएकी हुन्।
२०७२ को भूकम्पपछि दर्ता भएको यो संस्थाले प्रयोग गर्ने पोशाक र दर्ज्यानी चिह्नका विषयमा यसअघि पनि विवाद हुँदै आएको थियो। २०७८ मा नेपाली सेनाले सेनासँग मिल्दोजुल्दो पोशाक प्रयोगबारे ध्यानाकर्षण गराएको थियो भने पछिल्लो समय रसुवा बाढीका क्रममा संस्थाले लगाएको पोशाक र नामलाई लिएर चौतर्फी प्रश्न उठेको थियो। नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालसहितका व्यक्तिहरू सल्लाहकार रहेको उक्त संस्थाले कहीँबाट सहयोग नलिई पूर्ण रूपमा स्वयंसेवी ढङ्गले काम गर्दै आएको दाबी गरेको छ।









