२२ भाद्र २०८३, सोमबार | Tue Sep 8 2026

भोटेकोसी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी: प्रधानमन्त्री वालेन्द्र शाह



प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण जलविद्युत् आयोजनाहरूमा हराइरहेका मानिसहरूको खोज तथा उद्धारमा सरकारले कुनै कसर बाँकी नराखेको दाबी गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले बाढी प्रभावित विद्युत् आयोजना क्षेत्रबाट धेरै मानिसहरू सम्पर्कविहीन भएकाले तदारुकताका साथ खोजी कार्य भइरहेको र नेपालीको मानवतावादी स्वभावलाई व्यवहारमा उतारिएको बताएका छन्।

भदौ १० गते रसुवागढीबाट उत्तरपूर्वमा रहेको लाङटाङ हिमालबाट गएको हिमपहिरोका कारण भोटेकोसीमा लेदोसहितको आकस्मिक बाढी आएको थियो। उक्त बाढीले रसुवा र नुवाकोटमा रहेका सञ्चालनमा रहेका तथा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाहरूमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढी आएकै दिनदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली जोखिमपूर्ण स्थितिमा निरन्तर खटिरहेको छ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन भारत, चीन र कोरियाका विशेषज्ञ टोलीहरूसमेत खटिएका छन्। बाढीका कारण प्रभावित रसुवागढी, लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली १, त्रिशूली ३ ‘ए’ र त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाहरूमा अत्याधुनिक प्रविधि र उपकरण प्रयोग गरी खोज भइरहेको छ।

विभिन्न आयोजनाका सुरुङ तथा प्रभावित क्षेत्रहरूमा मिनी एस्काभेटर, बबक्याट, ड्रिलिङ मेसिन, विस्फोटक पदार्थ, थर्मल ड्रोन, थर्मल इमेजिङ र इन्फ्रारेड क्यामेरा प्रयोग गरिएका छन्। खोज तथा उद्धारका क्रममा टोलीले विभिन्न आयोजना क्षेत्रबाट केही मानिसको जीवितै उद्धार गरेको छ भने केही शवहरू समेत फेला पारेको छ। अप्ठ्यारो भौगोलिक अवस्था, दलदल र ठूला चट्टानका बाबजुद सीमित स्रोत र साधनका बीच खोज कार्यलाई अन्तिमसम्म निरन्तरता दिइने प्रधानमन्त्री शाहले प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ११ : ०७ बजे