२५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026

उपत्यकामा ग्यासको हाहाकार र दबाबपछि गौरीकुमारीको राजीनामा, जिम्मेवारीमा दीपककुमार साह



काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट हठात् राजीनामा दिएकी छन्।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर मन्त्री यादवले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष राजीनामा पत्र बुझाएकी हुन्। राजीनामा स्वीकृत भएसँगै प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपककुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नयाँ जिम्मेवारी सुम्पेका छन्।

गत चैत २७ गते मन्त्री बनेकी गौरीकुमारीले १५३ दिन मन्त्रालय सम्हालेपछि पद छाड्नुपरेको हो। ग्यास आपूर्ति व्यवस्थापन गर्न नसकेको र उद्योगीहरूप्रति आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला उनले राजीनामा दिएकी हुन्। मन्त्री यादवका अनुसार ग्यास उद्योगी र कर्मचारीको असहयोगका कारण काम गर्न कठिन भएको थियो। तर, उनका सचिवालयका सदस्यहरूले भने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको दबाब र प्रधानमन्त्री कार्यालयको हस्तक्षेपका कारण उनले राजीनामा दिनुपरेको दाबी गरेका छन्।

बुधबार बसेको संसदीय समिति बैठकमा आफ्नै दल रास्वपाका सांसद बदन भण्डारीलगायतले जनतालाई ग्यास सहज दिन नसक्ने मन्त्रीले पद छाड्नुपर्ने भन्दै कडा आलोचना गरेका थिए। सो बैठकमा मन्त्री यादवले “उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन” भन्ने अभिव्यक्ति दिएपछि ग्यास व्यवसायी तथा उद्योग वाणिज्य महासंघले कडा विरोध जनाएका थिए। यसअघि पनि पेट्रोलियम पदार्थको मूल्य विषयलाई लिएर मन्त्री र प्रधानमन्त्रीको सचिवालयबीच तिक्तता उत्पन्न भएको थियो। यसैबीच, रास्वपाका सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री यादवले राजीनामा दिएको नभई उनलाई अपमानजनक ढङ्गले बर्खास्त गरिएको आरोप लगाएका छन्।

गौरीकुमारीको राजीनामालगत्तै नयाँ उद्योगमन्त्रीका रूपमा नियुक्त भएका साह सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन्। निर्वाचनमा उनले नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १६ हजार ५ सय ८७ को फराकिलो मतान्तरले पराजित गर्दै ४२ हजार ७ सय ७१ मत प्राप्त गरेका थिए।

४९ वर्षीय साह पेसाले मेकानिकल इन्जिनियर, ऊर्जा विशेषज्ञ र सामुदायिक सशक्तीकरणका पहलकर्ता हुन्। पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट स्नातक र प्राकृतिक स्रोत विकासमा स्नातकोत्तर गरेका साहले लामो समय जलविद्युत् आयोजना, राष्ट्रिय सतर्कता केन्द्रमा टेक्निकल अडिटर र नीति व्यवस्थापनमा काम गरिसकेका छन्। जनमत पार्टीको उपाध्यक्ष हुँदै पछि सर्वोदय पार्टी गठन गरेका साह गत फागुन २१ को चुनावअघि रास्वपासँग सहकार्य गर्दै मैदानमा उत्रिएका थिए।

उद्योग मन्त्रालयको कमान सम्हालेका नयाँ मन्त्री साहका लागि अहिले बजारमा देखिएको ग्यासको चरम अभावलाई तत्काल समाधान गरी सहज आपूर्ति व्यवस्थापन मिलाउनु नै पहिलो र मुख्य चुनौती हुनेछ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहिबार  ११ : १० बजे