निजी क्षेत्रको खस्किँदो मनोबल उकास्न र नीतिगत असहजता हटाउने विषयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र प्रमुख उद्योगी–व्यवसायीहरूबीच झण्डै दुई घण्टा गम्भीर छलफल भएको छ ।
सुरुमा आधा घण्टाका लागि तय गरिएको भेटवार्तामा लगानीको वातावरण र उद्योगीहरूले भोगिरहेका समस्याबारे खुला छलफल भएपछि समय लम्बिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले वातावरण मिलाएको उक्त छलफलमा चौधरी समूहका विनोद चौधरी, आईएमई समूहका चन्द्रप्रसाद ढकाल, राजनीतिज्ञ एवं लिटल एन्जल्स एजुकेसन ग्रुपका उमेश श्रेष्ठ र गोल्यान समूहका पवनकुमार गोल्यान सहभागी थिए । भाटभटेनी समूहका मीनबहादुर गुरुङलाई पनि निम्तो दिइएको भए पनि स्वास्थ्य समस्याका कारण उनी उपस्थित हुन सकेनन् ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले निजी क्षेत्रका समस्या समाधान गर्न आवश्यक परे विद्यमान कानुन संशोधन वा नयाँ ऐन निर्माण गर्न सरकार तयार रहेको स्पष्ट पारे । व्यवसायीलाई अनाहकमा धरपकड नगरिने प्रतिबद्धता जनाउँदै उनले ढुक्क भएर लगानी विस्तार गर्न आग्रह गरे । साथै, सरकारले व्यापार नगर्ने स्पष्ट पार्दै रुग्ण सरकारी उद्योगबाहेक अन्य सबै क्षेत्रमा निजी क्षेत्रलाई नै अघि बढाउने र समस्याको लिखित खाका पेस गर्न व्यवसायीहरूलाई निर्देशन दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकाल र व्यवसायी उमेश श्रेष्ठका अनुसार भेटवार्ता निकै सकारात्मक र उपलब्धिमूलक रहेको छ । व्यवसायीहरूले नीतिगत समस्या, त्रसित मनस्थिति र शिक्षा, स्वास्थ्य, कृषिजस्ता क्षेत्रमा लगानी गर्न देखिएका बाधाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । सरकार र निजी क्षेत्रबीच निरन्तर समन्वयका लागि स्थायी संयन्त्र बनाउन प्रधानमन्त्री सकारात्मक देखिएको र व्यवसायीहरूले चाँडै सामूहिक छलफल गरी समाधानका उपायसहितको विस्तृत प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेका छन् ।









