निर्देशक अविनाश विक्रम शाहको फिल्म ‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ नेपालको तर्फबाट ९९ औँ एकेडेमी अवार्ड (अस्कर)का लागि छनोट भएको छ । सन् २०२७ मा घोषणा हुने अस्कर अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा यो फिल्मले नेपालको प्रतिनिधित्व गर्नेछ ।
अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) का अध्यक्ष लक्ष्मीनाथ शर्माद्वारा जारी विज्ञप्तिअनुसार अस्करको प्रतिस्पर्धाका लागि ‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ र ‘गौंथली’ गरी दुई फिल्मले आवेदन दिएका थिए। दुवै फिल्मको प्राविधिक पक्ष, कथाको प्रस्तुति, पात्रहरूको भावनात्मक पक्ष तथा कलात्मक शिल्पको मूल्याङ्कन गरी ‘तिनीहरू: एलिफेन्ट्स इन द फग’लाई अस्करका लागि सिफारिस गरिएको समितिले जनाएको छ।
अविनाश विक्रम शाहको निर्देशन रहेको यस फिल्ममा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, अलिज घिमिरे, आशान्त शर्मा, गौरी मल्ल, माओत्से गुरूङलगायतका कलाकारहरूको अभिनय रहेको छ।
यो फिल्म अन्तर्राष्ट्रिय मञ्चमा पहिले नै ऐतिहासिक सफलता हासिल गरिसकेको कृति हो। चर्चित कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भई जुरी पुरस्कार जित्ने यो पहिलो नेपाली फिल्म बनेको थियो। कान्समा ऐतिहासिक उपलब्धि हासिल गरेर चर्चा बटुलिसकेको यो फिल्म अहिले नेपालमा प्रदर्शनको दोस्रो सातामा रहेको छ।









