पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण मुख्य सडक अवरुद्ध भए पनि नेपाल आयल निगमले वैकल्पिक मार्गमार्फत काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाइरहेको छ । निगमका अनुसार पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन (करिब ३७ लाख १३ हजार ८९४ सिलिन्डर) एलपी ग्यास आयात भइसकेको छ ।
निगमका सहप्रवक्ता शिशिर सुवेदीका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) का विभिन्न रिफाइनरीबाट सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको छ। नेपालमा मासिक करिब ४७ हजार मेट्रिक टन ग्यास खपत हुने गर्छ।
मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले भदौ १४ गतेदेखि काठमाडौँ, धादिङ र काभ्रेका उद्योगका खाली सिलिन्डर तराईका जिल्लाहरू (बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरी) मा भरेर त्रिभुवन राजपथ तथा बीपी राजमार्ग हुँदै काठमाडौँ ल्याउने व्यवस्था मिलाएको छ। यसै वैकल्पिक व्यवस्थाअन्तर्गत भदौ १८ देखि २७ गतेसम्ममा ३ लाख ९९ हजार ५२९ सिलिन्डर उपभोक्तालाई वितरण भइसकेको छ।
पछिल्लो १० दिनमा उपत्यकामा दैनिक औसत ४० हजार सिलिन्डर ग्यास बिक्री वितरण भइरहेको निगमले जनाएको छ। सडक पूर्ण रूपमा सञ्चालनमा आएलगत्तै उपत्यकाकै उद्योगहरूबाट ग्यास रिफिल गरी बजारमा पठाइनेछ। आपूर्ति व्यवस्थालाई थप प्रभावकारी बनाउन उच्चस्तरीय समन्वय टोली गठन गरिएको छ भने ग्यास लुकाउने वा कृत्रिम अभाव सिर्जना गर्नेविरुद्ध सरकारले कडा कारबाही सुरु गरेको छ।
गत वर्षको तुलनामा ग्यासको आयात र बिक्रीमा वृद्धि
गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ग्यासको आयात र बिक्री उल्लेख्य बढेको छ। गत साउन र भदौको तुलनामा यस वर्ष सोही अवधिमा करिब १२ लाख बढी सिलिन्डर बजारीकरण भएको निगमको तथ्याङ्क छ।
गत वर्ष साउनमा ३१ लाख २१ हजार ४८ सिलिन्डर ग्यास बिक्री भएकामा यस वर्षको साउनमा बढेर ४० लाख ३६ हजार ३६४ सिलिन्डर पुगेको छ। त्यस्तै, गत वर्ष भदौ महिनाभर ३३ लाख ५५ हजार ९६० सिलिन्डर बिक्री भएकोमा चालु आवको भदौ २७ गतेसम्म नै ३७ लाख १३ हजार ८९४ सिलिन्डर ग्यास बजारमा पठाइसकिएको निगमले जनाएको छ।








