भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोले अवरुद्ध भएको सडकको नयाँ ट्रयाक खुलेसँगै आइतबार २१ वटा ठुला सवारी साधन काठमाडौँबाट बाहिरिएका छन् ।
सडक विभागले साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै निर्माणाधीन ट्रयाकको अवस्था तथा सवारी आवागमनको सम्भाव्यता परीक्षणका लागि काठमाडौँबाट चितवनतर्फ एउटा ग्यास बुलेटसहित करिब २० वटा र चितवनबाट काठमाडौँतर्फ एउटा भारी सवारीसहित केही हलुका सवारी साधन सफलतापूर्वक सञ्चालन गरिएको जानकारी गराएको छ।
गत भदौ १० र १४ गते त्रिशूली नदीमा आएको बाढीले कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक पूर्ण रूपमा कटान गरेर यातायात ठप्प भएको थियो। सडक विभागको निरन्तर प्रयासपछि १५ दिनको अवधिमा उक्त क्षेत्रमा नयाँ ट्रयाक खोल्न सफलता मिलेको हो।
ट्रयाक खुलेर परीक्षण सफल भए पनि हाल बाँकी रहेको सडक स्तरोन्नति तथा सुरक्षाका कामहरू निरन्तर जारी रहेकाले सर्वसाधारणका लागि सडक पूर्ण रूपमा खुला नगरिएको विभागले स्पष्ट पारेको छ। यो राजमार्गलाई आगामी असोज १ गतेदेखि मात्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
निर्माण र स्तरोन्नतिको काम भइरहेकाले कृष्णभीर खण्डबाट सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द रहनेछ। यस अवधिमा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा वैकल्पिक मार्गसम्बन्धी निर्देशनालयको पालना गरिदिन पनि सडक विभागले सर्वसाधारण र सवारी चालकहरूसँग अनुरोध गरेको छ।









