काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आगामी अधिवेशनका लागि ‘अधिवेशन निर्देशिका’ सार्वजनिक गर्दै विभिन्न तहका पदाधिकारी तथा सदस्य पदका लागि मनोनयन फारम शुल्क तय गरेको छ। सार्वजनिक निर्देशिका अनुसार वडा तहदेखि केन्द्रीय सभापतिसम्मको मनोनयन शुल्क तोकिएको छ।
निर्देशिका अनुसार केन्द्रीय कार्यसमिति सभापति पदका लागि उम्मेदवारी दिन ४० हजार रुपैयाँ मनोनयन शुल्क लाग्नेछ। यस्तै केन्द्रीय उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ तोकिएको छ। प्रदेश कार्यसमितितर्फ सभापतिका लागि २० हजार, उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार र सदस्यका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
यसैगरी जिल्ला कार्यसमिति सभापतिका लागि १५ हजार, उपसभापति र सचिवका लागि ७ हजार, सहसचिवका लागि ६ हजार र सदस्यका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ। प्रतिनिधि सभा क्षेत्रीय सभापतिका लागि १० हजार, केन्द्रीय महाधिवेशन गत प्रतिनिधिका लागि ७ हजार र महासमिति सदस्यका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ। पालिकास्तरमा भने महानगर तथा उपमहानगर सभापतिका लागि ७ हजार, नगर र गाउँपालिका सभापतिका लागि ५/५ हजार रुपैयाँ शुल्क लाग्नेछ।
स्थानीय तल्लो तहअन्तर्गत गाउँ तथा नगर वडा कार्यसमिति सभापतिका लागि १ हजार, उपसभापति, सचिव र सहसचिवका लागि ७ सय तथा सदस्य र क्षेत्रीय प्रतिनिधिका लागि ५/५ सय रुपैयाँ मनोनयन शुल्क तोकिएको छ।
निर्वाचन तालिका अनुसार नेपाली कांग्रेसको वडा अधिवेशन आगामी असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ। विभिन्न तहगत अधिवेशनहरू सम्पन्न गर्दै आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सञ्चालन हुने समितिले जनाएको छ।









