राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर फिर्ता गर्न अनुमति दिएका कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासे उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्। मंगलबार बसेको न्याय परिषद्को बैठकले बेलबासेलाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।
जिल्ला न्यायाधीशको ६३ वर्षे उमेर हदका कारण आगामी असोज ३ गते अनिवार्य अवकाश पाउन लागेका बेलबासेलाई अवकाशको चार दिनअघि उच्चमा सिफारिस गरिएको हो। वरिष्ठताको १३ औँ वरियतामा रहेका बेलबासेलाई वरिष्ठता मिचेर उच्च अदालत जनकपुरमा पदस्थापन गर्ने गरी सिफारिस गरिएको छ।
यसअघि महान्यायाधिवक्ता कार्यालयको निर्देशनमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रवि लामिछाने, गिब्रान (जिबि) राई, छविलाल जोशी लगायतविरुद्ध लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी अभियोग फिर्ता लिन निवेदन दिएको थियो। उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश बेलबासेको इजलासले अभियोगपत्र संशोधनका लागि अनुमति दिएको थियो। सोही निर्णयको गुन तिर्न सरकारले १२ जना वरिष्ठ जिल्ला न्यायाधीशहरूलाई पछाडि पार्दै बेलबासेलाई पदोन्नति गरेको आरोप समेत लागेको छ।
यसअघि लामिछानेलाई सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छँदा २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिने उच्च अदालत तुलसीपुर (बुटवल इजलास) का न्यायाधीश वासुदेव आचार्यलाई पनि गत असार ३२ गते विशेष अदालतको अध्यक्ष बनाइएको थियो।
मंगलबारको न्याय परिषद् बैठकले बेलबासेसँगै अन्य दुई जनालाई पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ। सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालत सुर्खेत र गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत विराटनगरमा पदस्थापनका लागि सिफारिस गरिएको छ।









