काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ढलाउन विभिन्न कोसिसहरू भइरहेको भए पनि आफू अझै दह्रो रूपमा मैदानमै रहेको बताएका छन्।
शनिबार संविधान दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाभारतको सन्दर्भ जोड्दै आफू अझै मैदानमा खडा रहेको दाबी गरे।
‘महाभारतको युद्धमा भीष्म पितामह पनि सरसैया माथि ढलेका थिए, तर केपी ओली सरसैया माथि ढलेको छैन, खडै छ। फेरि पनि मैदानमै छ,’ ओलीले भने।
अध्यक्ष ओलीले राष्ट्रिय इतिहासका योद्धा अमरसिंह थापाको उदाहरण दिँदै आफू पनि मुलुकका लागि निरन्तर क्रियाशील रहेको बताए। ‘अमरसिंह थापा ७४ वर्षको उमेरमा पनि तरबार लिएर युद्धको मैदानमा थिए। मैले त भारी लामो तरबार पनि बोक्नुपरेको छैन, कलम लिएर युद्धको मैदानमा छु,’ उनले भने।
자 आफ्नो विरुद्धमा घेराबन्दी र कोसिसहरू जारी रहेकोबारे आफू पूर्ण रूपमा अनभिज्ञ नरहेको स्पष्ट पार्दै ओलीले जस्तोसुकै षड्यन्त्र र कोसिस भए पनि त्यसले आफूलाई केही फरक नपार्ने र त्यसबाट पार नलाग्ने दाबी गरे ।









