काठमाडौँ — भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता हुनुभएका पत्रकार टेकराज थामीको कुशको शव बनाएर शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार थामी गत भदौ १० गतेदेखि सम्पर्कविहीन थिए। लामो समयसम्म खोजतलास गर्दासमेत फेला नपरेपछि परम्पराअनुसार उनको प्रतीकात्मक शव तयार पारी अन्त्येष्टि गरिएको हो। पशुपति आर्यघाटमा आयोजित अन्तिम संस्कारमा उहाँका पिता डीलबहादुर थामीले दागबत्ती दिए ।
दोलखाको कालीञ्चोक गाउँपालिका–२, बाबरेमा २०४२ साल जेठ १४ गते जन्मनुभएका ४१ वर्षीय थामी दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय थिए। आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गर्नुभएका थामीले आफ्नो पत्रकारिता यात्राका क्रममा एचबिसी एफएम, सगरमाथा टेलिभिजन, एबिसी टेलिभिजन र नयाँ पत्रिका दैनिकमा लामो समय काम गर्नुभएको थियो।
उनी पत्रकारिता क्षेत्रका साथै अध्यापन र सामाजिक अभियानमा समेत उत्तिकै सक्रिय थिए। थामीले बागीश्वरी क्याम्पस र समृद्धि क्याम्पसमा पत्रकारिता अध्यापन गराउनुका साथै पत्रकारिता प्रशिक्षण र लेखनमा महत्त्वपूर्ण योगदान पुर्याएता थिए।
साथै, गोरखापत्र दैनिकको थामी भाषा पृष्ठका संयोजकसमेत रहनुभएका उहाँ नेपाल पत्रकार महासङ्घ र प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य, नेपाल थामी समाजका पूर्वउपाध्यक्ष तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का पूर्वकोषाध्यक्ष थिए।
अन्त्येष्टिका क्रममा उपस्थित सञ्चारकर्मी, सामाजिक अभियन्ता तथा आफन्तहरूले स्व. थामीले सञ्चार क्षेत्र र कलमका माध्यमबाट समाज तथा आफ्ना समुदायका लागि पुर्याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।









