६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

जलविद्युत आयोजनाका सुरुङबाट ३ जनाको जीवितै उद्धार, ४७ शव फेला; अझै ८०५ सम्पर्कविहीन



भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित विभिन्न जलविद्युत आयोजनाका सुरुङमा फसेकामध्ये हालसम्म ३ जनाको मात्रै जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकाहरूमा माथिल्लो त्रिशूली ३ ‘ए’ को सुरुङबाट दुई नेपाली र माथिल्लो त्रिशूली १ को सुरुङबाट एक चिनियाँ नागरिक रहेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अनुसार प्रभावित जलविद्युत आयोजनाका सुरुङहरूबाट हालसम्म ४७ वटा शव निकालिएको छ । जसमध्ये उद्धार टोलीले माथिल्लो त्रिशूली १ बाट सोमबारसम्म सबैभन्दा बढी ३९ वटा शव निकालेको छ । त्यस्तै चिलिमेबाट ५, लाङटाङ खोला जलविद्युत आयोजनाबाट २ र माथिल्लो त्रिशूली ३ ‘ए’ बाट १ वटा शव निकालिएको छ ।

बाढीपछि विभिन्न ११ वटा जलविद्युत आयोजनामा कार्यरत ८०५ जना श्रमिक तथा कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् ।

कुन आयोजनामा कति सम्पर्कविहीन?

  • माथिल्लो त्रिशूली १: ४३९ जना
  • माथिल्लो त्रिशूली ३ ‘बी’: १७८ जना
  • रसुवागढी: ९३ जना
  • लाङटाङ: ३९ जना
  • माथिल्लो त्रिशूली ३ ‘ए’: ३९ जना
  • मैलुङ खोला: ७ जना
  • रसुवा भोटेकोशी: ३ जना
  • त्रिशूली जलविद्युत आयोजना: ३ जना
  • मिडल त्रिशूली गंगा: २ जना
  • चिलिमे: १ जना
  • देवीघाट जलविद्युत आयोजना: १ जना

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य अधिकांश आयोजनाहरूमा अन्तिम चरणमा पुगेको छ । चिलिमे, लाङटाङ र माथिल्लो त्रिशूली ३ ‘ए’ लगायतका आयोजनाहरूमा सम्भावित ठाउँसम्म खोजी गर्दा थप व्यक्ति फेला नपरेपछि सुरुङभित्रको खोजी कार्य रोकिएको छ । नेपाली सेनाका अनुसार हाल माथिल्लो त्रिशूली १ र माथिल्लो त्रिशूली ३ ‘बी’ मा मात्रै खोजी कार्य जारी राखिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ७ : १७ बजे