१५ आश्विन २०८३, बिहिबार | Fri Oct 2 2026

देशभर स्क्रब टाइफस ७४ जिल्लामा फैलियो, ९ हजार सङ्क्रमित



काठमाडौँ । सल्यानको दार्मा गाउँपालिकाबाट सुरु भएको किर्ना (माइट) को टोकाइबाट सर्ने ‘स्क्रब टाइफस’ सङ्क्रमण हाल देशभरका ७४ जिल्लामा फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार हालसम्म देशभर ९ हजार जनामा यो रोगको सङ्क्रमण पुष्टि भइसकेको छ।

पछिल्लो एक महिनायता सल्यानको दार्मा गाउँपालिकाका ६ वटै वडामा सङ्क्रमण तीव्र रूपमा फैलिँदा १२ वर्षीय बालकदेखि ८२ वर्षसम्मका ८ जनाको मृत्यु भएको छ। दार्मामा मात्रै ६ सय जनामा सङ्क्रमण देखिएको छ। अन्य जिल्लाबाट भने अहिलेसम्म मृत्युको आधिकारिक रिपोर्ट प्राप्त नभएको ईडीसीडीले जनाएको छ।

महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार ‘ओरेन्सिया सुसुगामुसी’ नामक जीवाणु बोकेको सूक्ष्म किर्नाको टोकाइबाट सर्ने यो रोग डेंगुपछिको दोस्रो ठूलो कीटजन्य स्वास्थ्य समस्या बनेको छ। यो मानिसबाट मानिसमा नसर्ने भए पनि झाडी, खेतबारी, वनजंगल वा सहरी क्षेत्रका पार्क र दुबोमा बस्ने किर्नाको टोकाइबाट मानिसमा सर्ने गर्दछ। सुरुमा कडा ज्वरो आउने, टाउको र शरीर दुख्ने, पसिना आउने, आँखा रातो हुने र किर्नाले टोकेको ठाउँमा रातो डाबर भई कालो दाग बस्ने यसका मुख्य लक्षण हुन्।

समयमै पहिचान नभए निमोनिया भई कलेजो, मिर्गौला र श्वासप्रश्वास प्रणालीमा गम्भीर असर परी बिरामीको मृत्युसमेत हुन सक्छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार रगत परीक्षणबाट यो रोग सजिलै पत्ता लाग्छ र एन्टिबायोटिक औषधिको प्रयोगबाट पूर्ण रूपमा निको हुन्छ।

सङ्क्रमणबाट बच्न खेतबारी वा झाडीमा जाँदा शरीर पूरा ढाकिने कपडा र बुट लगाउन, भुइँमा नबस्न तथा घरवरिपरि मुसा नियन्त्रण र सरसफाइमा ध्यान दिन स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन्। ज्वरो आउनासाथ घरमा नबसी नजिकैको स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन ईडीसीडीले सर्वसाधारणलाई सुझाव दिएको छ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  १० : ३५ बजे