१५ आश्विन २०८३, बिहिबार | Fri Oct 2 2026

आफै स्कूटर चलाएर अस्पताल गएका सर्पले टोकेका युवकको उपचार नपाएर मृत्यु



प्रादेशिक अस्पताल जनकपुरमा समयमा उचित उपचार र आईसीयू बेड नपाउँदा सर्पदंशका एक युवकले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाका २५ वर्षीय महेश यादव रहेका छन्।

मंगलबार राति साढे १२ बजे सर्पले टोकेलगत्तै महेश आफैं स्कुटर चलाएर भाइका साथ प्रादेशिक अस्पताल पुगेका थिए। आफैं टिकट काटेर भर्ना भएका उनलाई सुरुमा १ घण्टा अब्जर्भेसनमा राखेर १० भाइल एन्टी स्नेक भेनम दिइएको थियो। तर, अस्पताल पुगेको करिब दुई घण्टापछि उनलाई बान्ता हुनुका साथै पेट दुख्ने र घाँटी घेरिने जस्ता गम्भीर लक्षण देखिन थालेका थिए।

अवस्था जटिल बनेपछि चिकित्सकले आईसीयू वा भेन्टिलेटरमा राख्नुपर्ने बताए पनि अस्पतालमा उपलब्ध १० बेड आईसीयू र ३ बेड भेन्टिलेटर सबै भरिभराउ भएको भन्दै अन्तिम समयमा अन्यत्र रिफर गरिदिएका थिए।

प्रादेशिक अस्पतालले रिफर गरेपछि परिवारले उनलाई सुरुमा जनकपुरकै ओम दीर्घायु अस्पताल लगेका थिए, तर त्यहाँ सर्पदंशको औषधि नभएको भन्दै भर्ना लिन मानिएन। त्यसपछि धनुषाको सखुवा महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्र पुर्‍याइए पनि आईसीयू नभएको भन्दै फर्काएपछि अन्ततः महोत्तरीको बर्दिबासस्थित सर्पदंश उपचार केन्द्र लगिएको थियो। बर्दिबास पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

आकस्मिक कक्षका इन्चार्ज डा. शरद यादवका अनुसार सुरुमा लक्षण नदेखिएकाले निगरानीमा राखिएको र पछि अवस्था बिग्रिँदै जाँदा आईसीयू/भेन्टिलेटर खाली नभएकै कारण बिहान साढे ४ बजेतिर रिफर गरिएको बताए। मृतकका आफन्तले भने आफैं होसमै स्कुटर चलाएर आएका बिरामीको अवस्था बिग्रिएपछि मात्र आईसीयू खाली नभएको भनिएकाले अस्पतालको लापरवाहीले नै ज्यान गएको आरोप लगाएका छन्। सुरुमै जानकारी दिएको भए अन्यत्र लगेर ज्यान जोगाउन सकिने उनीहरूको भनाइ छ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  १० : ५८ बजे