१५ आश्विन २०८३, बिहिबार | Fri Oct 2 2026

विष्फोटक पदार्थ प्रयोग गरेर मनाङ जोड्ने बेंसीसहर-चामे सडक खुलाउने तयारी



हिमाली जिल्ला मनाङलाई सडक सञ्जालमा जोड्ने एकमात्र बेंसीसहर–चामे सडक ५ दिनदेखि पूर्ण रूपमा बन्द भएको छ। गत शनिबार र आइतबार आएको अविरल वर्षापछिको बाढीपहिरोले सडक अवरुद्ध भएपछि लमजुङ सदरमुकाम बेंसीसहरदेखि मनाङ सदरमुकाम चामे र चामेबाट माथिल्लो मनाङको खाङसारसम्मको यातायात सेवा ठप्प भएको हो।

सडक सञ्चालन हुन नसक्दा चक्रीय अन्नपूर्ण पदयात्रामा निस्किएका विदेशी तथा आन्तरिक पर्यटकका साथै स्थानीय मनाङवासी नराम्ररी प्रभावित भएका छन्। सडक बन्द भएसँगै माथिल्लो मनाङतर्फ खाद्यान्न तथा विकास निर्माणका सामग्री ढुवानी रोकिएको छ। यद्यपि, तत्कालका लागि खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको अभाव भने नरहेको मनाङ जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

अवरुद्ध सडक सञ्चालनमा ल्याउन तल्लो मनाङको नासों गाउँपालिका–३ खोत्रोमा खसेको ठूलो पहिरो र ढुंगा पन्छाउन विष्फोटक पदार्थ प्रयोग गर्ने तयारी गरिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार विष्फोटक पदार्थ प्रयोग गरी ढुंगा फुटाउन अहिले ड्रिल गरेर होल बनाउने काम भइरहेको छ।

सडक खुलाउन जिल्ला प्रशासन कार्यालय, मर्स्याङ्दी बेसिनमा निर्माणाधीन जलविद्युत आयोजना, डुम्रे–बेंसीसहर–चामे सडक आयोजना र स्थानीय तहको समन्वयमा भारी मेशिनहरू परिचालन गरिएका छन्। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासी निरन्तर खटिएका छन्।

डुम्रे–बेंसीसहर–चामे सडक आयोजनाका कार्यालय प्रमुख सतिस सुवेदीका अनुसार लमजुङतर्फका खरखरे र रामबजारलगायतका क्षेत्रमा पहिरो पन्छाएर बाटो खुलाइसकिएको छ। तर मनाङतर्फको खोत्रो, स्यार्क्युखोला र कोतो क्षेत्रमा अझै सडक खुलाउन सकिएको छैन। आयोजना टोली अहोरात्र सडक खुलाउन लागिपरेको सुवेदीले जानकारी दिए।

यता मनाङ सदरमुकाम चामेदेखि भ्राताङसम्मको सडक खण्ड पनि अझै अवरुद्ध नै छ। यद्यपि भ्राताङदेखि माथिल्लो मनाङतर्फको बाटो भने सञ्चालनमा ल्याइएको प्रशासनले जनाएको छ। चामेमा मर्स्याङ्दी नदी थुनिएर बनेको ताल र त्यस आसपास थुप्रिएको गेग्रानका कारण सडक सञ्चालनमा थप जटिलता पैदा भएको छ।

प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार चामेको पुल आसपास थुप्रिएको गेग्रान हटाएर सडक सञ्चालनमा ल्याउने र पुल जोगाउने काम भइरहेको छ। नदी खोल्न सुरुमा विष्फोटक पदार्थ प्रयोग गर्ने सोच बनाइए पनि नजिकैका स्थानीय घरहरूमा क्षति पुग्ने जोखिम देखिएपछि अहिले मेशिनको प्रयोग गरेर नै गेग्रान पन्छाउने काम भइरहेको छ।

सुरक्षा निकाय, जनप्रतिनिधि र स्थानीयको सामूहिक प्रयासबाट केही दिनभित्रै सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिए पनि भौगर्भिक जटिलताका कारण सडक कहिलेसम्म पूर्ण रूपमा खुल्छ भन्नेबारे अहिल्यै यकिन भन्न नसकिने प्रमुख जिल्ला अधिकारी खनालले बताए।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  १० : ४५ बजे