२३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026

पोखरामा स्कूल बस दुर्घट्ना, पाँच जनाको ज्यान गयो



पोखरा महानगरपालिका-२८, माझठानामा विद्यार्थी बोकेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटना भएपछि महानगरपालिकाले सो घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।

शुक्रबार बिहान चालक, सहचालक र विद्यार्थी गरी कुल २२ जना सवार उक्त बस दुर्घटनामा परेको हो। घटनालगत्तै उद्धार कार्य सुरु गरिए पनि पाँच जनाको ज्यान जोगाउन नसकिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिएका छन्।

दुर्घटनाको यथार्थ कारण पहिचान गर्न महानगरले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। उक्त समितिमा मेकानिकल इन्जिनियर, महानगर शिक्षा समितिका सदस्य, नगर प्रहरी निरीक्षक र ट्राफिक सहायक निरीक्षक सदस्य रहेका छन्। समितिलाई घटनाको सम्पूर्ण प्राविधिक तथा व्यावहारिक पक्षको विस्तृत अध्ययन गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ।

दुर्घटनास्थलको निरीक्षणपछि बोल्दै मेयर आचार्यले घाइतेहरूको उपचारमा महानगरले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन्। भौतिक अवस्था हेर्दा सडक सामान्य देखिए पनि यसरी दुर्घटना हुनु गम्भीर विषय भएको बताउँदै उनले छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउने विश्वास व्यक्त गरे।

यसअघि पनि विद्यालयका सवारीसाधनको सुरक्षा मापदण्डका विषयमा महानगरले कडाइ गर्दै आएको थियो। तर, पुनः यस्तो दुःखद दुर्घटना दोहोरिएपछि सुरक्षा व्यवस्थामा नयाँ चुनौती थपिएको छ। आगामी दिनमा विद्यालयका बसहरूमा अनिवार्य सुरक्षा मापदण्ड, नियमित यान्त्रिक जाँच तथा पहेँलो रङको मापदण्ड पूर्ण रूपमा पालना भए-नभएको विषयमा थप कडाइका साथ अनुगमन गरिने मेयर आचार्यले स्पष्ट पारेका छन्।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ७ : ४४ बजे