२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

मंसिर दोस्रो साता प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी, सीमा र जलविद्युत् मुख्य एजेन्डा



काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको आगामी मंसिर दोस्रो साता हुने भारत भ्रमणका लागि काठमाडौँ र नयाँदिल्लीमा कूटनीतिक तयारी तीव्र पारिएको छ। गत १३ चैतमा सरकारको नेतृत्व सम्हालेयता प्रधानमन्त्री शाहको यो पहिलो द्विपक्षीय औपचारिक भ्रमण हुन लागेको हो।

उच्च कूटनीतिक स्रोतका अनुसार भ्रमणको अन्तिम मिति तय हुन बाँकी रहे पनि भारतीय र नेपाली सञ्चारमाध्यमहरूमा आगामी २३ देखि २५ नोभेम्बर (७–९ मंसिर) सम्म भ्रमण हुनसक्ने चर्चा छ। तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भने मिति अझै निश्चित भइनसकेको स्पष्ट पारेका छन्। प्रधानमन्त्रीको यो भारत भ्रमण तीन दिनको हुने र दिल्लीबाहिर जाने सम्भावना कम रहेको बताइएको छ। भ्रमणका क्रममा शाहले भारतीय समकक्षी नरेन्द्र मोदी र अन्य वरिष्ठ भारतीय मन्त्रीहरूसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नेछन्।

यसअघि असोज दोस्रो साता संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री शाहको पदभार ग्रहणपछिको यो दोस्रो विदेश यात्रा हुनेछ। प्रधानमन्त्रीको शपथ लिएलगत्तै भारतीय समकक्षी मोदीले बधाई दिँदै भारत भ्रमणको निम्तो दिएका थिए। परराष्ट्रमन्त्री शिशिर खनालले दुवै पक्षले शाहको भ्रमणलाई ‘फलदायी र परिणाममुखी’ बनाउन चाहेको बताएका छन्।

भ्रमणका क्रममा दुई मुलुकबीचको सम्बन्ध सुदृढ बनाउने, आपसी सहकार्य अघि बढाउने र विभिन्न सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको मिति तय हुन बाँकी रहे पनि उद्घाटन गरिने परियोजनाहरू र हस्ताक्षर गरिने सम्झौताको सम्भावित सूची दुवै पक्षबीच आदानप्रदान भइसकेको छ। भारतसँगको सीमा विवाद, अतिरिक्त हवाई रुट र व्यापार असन्तुलन जस्ता गम्भीर तथा जटिल विषयमा दसैंपछि थप गहन छलफल हुने अधिकारीहरूको भनाइ छ।

भारतका लागि नेपालका पूर्वराजदूत शंकर शर्माका अनुसार केही परियोजनाहरू उद्घाटनका लागि तयारी अवस्थामा छन् भने केही निर्माण सुरु हुने चरणमा छन्। काभ्रेपलाञ्चोकको पनौतीस्थित नेपाल प्रहरी प्रतिष्ठान, दार्चुलाको एउटा पुल, भैरहवास्थित एकीकृत जाँच चौकी र महाकाली नदीमाथिको पक्की पुल निर्माण सम्पन्न भई संयुक्त उद्घाटनको पर्खाइमा छन्। यसैगरी, दोधारा–चाँदनीस्थित एकीकृत जाँच चौकी, तल्लो अरुण जलविद्युत् आयोजना र सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनको संयुक्त रूपमा शिलान्यास गर्ने तयारी गरिएको छ।

यसै गरी भ्रमणका क्रममा केही ठूला जलविद्युत् आयोजनाहरूलाई पनि एजेन्डामा समावेश गर्ने गरी अधिकारीहरूले अध्ययन गरिरहेका छन्। जसमा ७ सय ५० मेगावाटको पश्चिम सेती, ४ सय ८० मेगावाटको फुकोट कर्णाली र ४ सय ५० मेगावाटको सेती नदी–६ जलविद्युत् आयोजना रहेका छन्। यी तीनवटै आयोजनामा भारतको सरकारी स्वामित्वमा रहेको एनएचपीसी संलग्न छ।

यसका साथै, गत १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि पुनर्निर्माण र पुनःस्थापनाका लागि नेपालले भारतसँग अनुदान तथा सहुलियतपूर्ण ऋण सहयोगको आग्रह गरिसकेको छ। सोही सिलसिलामा अर्थमन्त्री स्वर्णिम वाग्लेले यसअघि नै भारत भ्रमण गरेर सहयोगबारे छलफल गरिसकेका छन्। नेपाली अधिकारीहरू सीमा विवाद, थप हवाई प्रवेश बिन्दु, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना तथा व्यापार र पारवहनलगायतका थाती रहेका विषयमा यस भ्रमणका क्रममा सहमति जुटाउने प्रयासमा रहेका छन्।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  १० : ३१ बजे