५ कार्तिक २०८३, बुधबार | Thu Oct 22 2026

ट्रम्प प्रशासनद्वारा दोस्रो कार्यकालमा ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द



वासिङ्टन डीसी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो दोस्रो कार्यकालमा ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटले मंगलबार सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत उक्त तथ्यांक सार्वजनिक गरेका हुन्। पिगोटका अनुसार ट्रम्प प्रशासनले इतिहासमै अन्य कुनै पनि अमेरिकी प्रशासनको तुलनामा तीव्र गतिमा भिसा रद्द गर्ने काम गरिरहेको छ।

सन् २०२५ को जनवरीमा ट्रम्पले दोस्रो कार्यकालको जिम्मेवारी सम्हालेयता अगस्ट १० सम्ममा रद्द गरिएका भिसाको संख्या १ लाख ७५ हजारभन्दा बढी पुगेको थियो। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार पछिल्लो तथ्यांकले केही सातायता भिसा रद्द गर्ने क्रम झनै तीव्र बनेको देखाउँछ।

कडा नीति र राष्ट्रिय सुरक्षाको तर्क

ट्रम्प प्रशासनले भिसामा अमेरिका प्रवेश गरेका विदेशी नागरिकहरूले कानुन उल्लंघन गरेमा, ठगी गरेमा वा राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गराउने गतिविधिमा संलग्न भएमा ‘शून्य सहनशीलता’ (जिरो टोलेरेन्स) को नीति अपनाइने स्पष्ट पारेको छ। प्रशासनले आप्रवासन नियन्त्रण र देशनिकाला अभियानलाई अमेरिकाको आन्तरिक सुरक्षा सुधार गर्ने प्रमुख प्रयासका रूपमा व्याख्या गर्दै आएको छ।

यसैगरी, ट्रम्प प्रशासनले आप्रवासी तथा भिसा आवेदकहरूको सामाजिक सञ्जाल जाँच (सोसल मिडिया स्क्रिनिङ) लाई पनि निकै कडा बनाएको छ। साथै, केही प्रकारका कार्य भिसा (वर्क भिसा) मा भारी शुल्क वृद्धि गरेर कानुनी आप्रवासन प्रक्रियालाई समेत थप जटिल र महँगो बनाइएको छ।

निर्णयप्रति विवाद र आलोचना

ट्रम्प प्रशासनका पछिल्ला कदमहरूले अमेरिकाभित्र र बाहिर विभिन्न विवाद र आलोचना निम्त्याएका छन् ।

 गाजामा इजरायलको सैन्य आक्रमणको विरोधमा प्रदर्शन गर्ने प्यालेस्टाइन समर्थक विदेशी नागरिकहरूको भिसा रद्द गरिएका घटनालाई मानवअधिकारवादीहरूले अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै आलोचना गरेका छन्।

 अमेरिकी दक्षिणपन्थी टिप्पणीकार चार्ली कर्कको हत्याबारे सामाजिक सञ्जालमा टिप्पणी गर्ने विदेशी नागरिकहरूको भिसा रद्द गरिएको विषयले पनि ठूलो विवाद सिर्जना गरेको थियो।

 सन् २०२४ को राष्ट्रपतीय निर्वाचनका क्रममा ट्रम्पले अवैध आप्रवासन रोक्ने मुख्य प्रतिबद्धता जनाएका थिए। तर, अहिले लागू गरिएका कडा नीतिहरूले अवैध आप्रवासीलाई मात्र नभई कानुनी रूपमा अमेरिका प्रवेश गर्न र बस्न चाहने विदेशी नागरिकहरूलाई समेत गम्भीर असर पारेको विश्लेषकहरूको भनाइ छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८३, बुधबार  ७ : ४० बजे