६ कार्तिक २०८३, बिहिबार | Fri Oct 23 2026

मेटालाई न्यूमेक्सिकोमा किन २५ अर्ब डलर जरिवाना गरियो?



फेसबुक, इन्स्टाग्राम र हट्सएपको मातृकम्पनी मेटाले आफ्नो व्यावसायिक कार्यशैली र प्रयोगकर्ताको तथ्याङ्क (डाटा) सम्बन्धी झुटा दाबीका कारण इतिहासकै सबैभन्दा ठूलो २५ अर्ब अमेरिकी डलर (करिब ३७ खर्ब ८६ अर्ब रुपैयाँ) जरिवाना व्यहोर्नुपर्ने भएको छ ।

अमेरिकाको न्यु मेक्सिको राज्यको एक अदालतका न्यायाधीश फ्रान्सिस म्याथ्युले बुधबार यो ऐतिहासिक फैसला सुनाएका हुन् । यस वर्षको सुरुमा चलेको दुई हप्ता लामो बहस र सुनुवाइपछि अदालतले मेटाले वर्षौंसम्म प्रयोगकर्ताको डाटा सुरक्षाबारे सर्वसाधारणलाई ढाँटेको ठहर गरेको थियो ।

यो मुद्दा सन् २०१६ को अमेरिकी राष्ट्रपतिको निर्वाचनमा विवादित बनेको क्याम्ब्रिज एनालिटिका काण्डसँग जोडिएको छ, जसले करोडौँ फेसबुक प्रयोगकर्ताको विवरण राजनीतिक परामर्शका लागि प्रयोग गरेको थियो । न्यु मेक्सिको राज्यले मेटाले सन् २०१० देखि २०२१ सम्म (११ वर्षभन्दा बढी समय) प्रयोगकर्ताको स्वीकृतिबिना तेस्रो पक्षलाई डाटा उपलब्ध नगराएको भनी गलत दाबी गरेको र घृणास्पद अभिव्यक्तिबाट लाभ उठाएको आरोप लगाएको थियो ।

राज्यका अनुसार करिब २० लाख जनसङ्ख्या भएको न्यु मेक्सिकोका नागरिक प्रभावित भएका थिए भने मेटाले राज्यको कानुन ४ करोडभन्दा बढी पटक उल्लङ्घन गरेको पाइएको छ । मार्क जुकरबर्गसहित उच्च अधिकारीहरूबीच भएका संवादहरू नै सर्वसाधारणलाई गुमराहमा राख्ने गरी तयार पारिएका थिए ।

अदालतको यो निर्णयपछि न्यु मेक्सिकोका एटर्नी जनरल राउल टोरेजले जस्तै शक्तिशाली प्रविधि कम्पनी भए पनि कानुनभन्दा माथि कोही हुन नसक्ने सन्देश दिएको बताएका छन् । सुरुमा कानुन उल्लङ्घनको हिसाब गर्दा कुल जरिवाना २ खर्ब १९ अर्ब डलर पुग्ने भए पनि न्यायाधीशले त्यसलाई घटाएर २५ अर्ब डलर कायम गरेका हुन् ।

यसअघि पनि सन् २०१९ मा अमेरिकी संघीय व्यापार आयोग (एफटीसी) ले मेटालाई ५ अर्ब डलर जरिवाना गराएको थियो भने बाल सुरक्षा सम्बन्धी मुद्दामा क्यालिफोर्नियासँग १८ अर्ब डलरको सम्झौता र न्यु मेक्सिकोमै १ अर्ब डलरको जरिवाना भइसकेको छ ।

यता मेटाका मुख्य अधिवक्ता सीजे माहोनीले भने यो फैसलापछि न्यु मेक्सिको राज्यमा व्यापार गर्न असम्भवप्रायः हुने प्रतिक्रिया दिँदै निर्णयविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्ने बताएका छन् । उनले मेटाले कुनै कानुन उल्लङ्घन नगरेको र यो फैसलाले मानिसहरूले अनलाइनमा के बोल्न पाउँछन् भन्नेबारे नयाँ नियम लाद्न खोजेको आरोप लगाए ।

ठूलो जरिवानाको सामना गरिरहे पनि मेटाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रतिस्पर्धामा ठूलो रकम लगानी गरिरहेको छ । कम्पनीले यसै वर्ष एआई आयोजनाहरूमा १ खर्ब ३५ अर्बदेखि १ खर्ब ४५ अर्ब डलरसम्म खर्च गर्ने लक्ष्य राखेको छ ।

जुलाईदेखि सेप्टेम्बरको अवधिमा मेटाको आम्दानी २६ प्रतिशतले बढेर ६४.५ अर्ब डलर र नाफा तेब्बर भई ९.८ अर्ब डलर पुगेको छ । यद्यपि, एआईमा भइरहेको विशाल लगानीका कारण कम्पनीको इतिहासमै पहिलोपटक ‘क्यास फ्लो’ २ अर्ब डलरभन्दा बढी ऋणात्मक बनेको छ, जसलाई सम्बोधन गर्न कम्पनीले सेयर संरचनामा नयाँ रणनीति अपनाउने जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८३, बिहिबार  ११ : ०१ बजे