चिनियाँ भिडियो सेयरिङ प्लेटफर्म टिकटकको अमेरिकी बजारको स्वामित्व विक्री नगरे बन्द गर्ने अमेरिकी कानुन विरुद्ध टिकटक कानुनी उपचारमा गएको छ । टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले अमेरिकी संसदले पारित गरेको उक्त कानुनी व्यवस्था असंवैधानिक भएको आरोप लगाउँदै अदालतको ढोका ढक्ढकाएको हो ।
दुई साताअघि अमेरिकी संसदले पारित गरेको उक्त कानुनविरुद्ध टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले मंगलबार अमेरिकी अदालतमा मुद्दा दायर गरेको हो ।
टिकटकमार्फत चीन सरकारले अमेरिकी नागरिकहरूमाथि निगरानी गर्न वा आम धारणा प्रभावित पार्न सक्ने भन्दै अमेरिकाले कि त टिकटकको स्थानीय सञ्चालन स्थानीय लगानीकर्तालाई बेच्नुपर्ने, नभए प्रतिबन्ध लगाइने कानुन बनाएको छ । टिकटकले भने आफ्ना १७ करोड अमेरिकी प्रयोगकर्ताको अभिव्यक्ति स्वतन्त्रता हनन हुने गरी सरकारले ‘शक्तिको असाधारण र असंवैधानिक अभ्यास’ गरेको भन्दै सो कानुनको विरोध गर्दै आएको छ ।
‘टिकटक प्रतिबन्ध गर्नु सरासर असंवैधानिक छ र यो कुरा कानुन बनाउनेहरूले पनि बुझेका छन्,’ टिकटकले अदालतमा दायर गरेको याचिकामा भनिएको छ, ‘त्यसकारण उनीहरूले यो कानुनलाई सोझै प्रतिबन्धात्मक नदेखाउने गरी टिकटकको स्वामित्वमा नियमन गर्ने प्रावधान मिसाएका छन् । तर वास्तवमा टिकटकलाई प्रतिबन्ध वा स्वामित्व विक्रीमध्ये एउटा रोज्ने विकल्प छैन ।’
अमेरिकी सञ्चार माध्यमहरुका अनुसार डिस्ट्रिक्ट अफ कोलम्बिया सर्किटको पुनरावेदन अदालतमा दायर मुद्दामा बिनाप्रमाण टिकटकको चिनियाँ स्वामित्वलाई राष्ट्रिय सुरक्षा जोखिमका रूपमा चित्रण गरिनु उचित नभएको उल्लेख छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै कार्यकालमा सन् २०२० को अगस्टमा एक कार्यकारी आदेश जारी गरी टिकटक र विच्याट गैरचिनियाँ उद्यमीलाई बिक्री नगरिए प्रतिबन्ध लगाइने घोषणा गरिएको थियो । तर त्यो आदेश कार्यान्वयनको केही घण्टा मात्र अघि एक अमेरिकी संघीय न्यायाधीशले उक्त आदेश अमेरिकी संविधानको पहिलो संशोधविपरीत भएको भन्दै रोक्ने आदेश दिएका थिए ।