६ मंसिर २०८३, शनिबार | Sun Nov 22 2026

नेपाली फुटबलमाथिको निलम्बन फुकुवा प्रक्रिया अघि बढ्यो



शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन्। थाइल्यान्डमा फिफा र एसियन फुटबल महासंघ (एएफसी) का अध्यक्षसहितका शीर्ष पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किएका मन्त्री पोखरेलले पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएका हुन्।

मन्त्री पोखरेलका अनुसार निलम्बन फुकुवासँगै अखिल नेपाल फुटबल संघ (एन्फा) को तहगत निर्वाचन गराउन फिफा र एएफसी सहमत भएका छन्। निर्वाचनको प्रक्रिया र मोडालिटीबारे फिफाले आगामी डिसेम्बरमा प्रस्तावसहितको कार्ययोजना पठाउने सहमति भएको छ।

“अब फिफाले नै एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढाउँछ,” पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले भने, “तहगत निर्वाचनको हकमा पनि डिसेम्बरसम्ममा कार्ययोजनाको प्रस्ताव लिएर आउने भन्नुभएको छ।”

निर्वाचनको मोडालिटी टुंगिन बाँकी

तहगत निर्वाचन गर्ने सहमति भए पनि पुरानै नेतृत्वबाट निर्वाचन गराउने वा अन्तरिम समिति गठन गर्ने भन्ने विषय भने टुंगिन बाँकी रहेको मन्त्री पोखरेलले स्पष्ट पारे। उनले भने, “तहगत निर्वाचन गर्ने भन्नेमा सहमति भएको हो। कुन मोडालिटीमा गर्ने, कस्तो गर्ने र कहिले गर्ने भन्ने विषयमा टुंगिन बाँकी छ।”

‘तेस्रो पक्षको हस्तक्षेप’ बारे फिफा आश्वस्त

यसअघि फिफाले नेपाली फुटबलमा सरकारको भूमिकालाई ‘थर्ड पार्टी इन्टरफेरेन्स’ (तेस्रो पक्षको हस्तक्षेप) का रूपमा बुझेको थियो। तर, भेटवार्ताका क्रममा नेपालको प्रचलित कानुन र राज्यको क्षेत्राधिकारबारे स्पष्ट पारेपछि फिफा सकारात्मक बनेको मन्त्री पोखरेलले बताए।

“राज्यले गर्ने काम आफैँ गर्छ। देशको कानुनअनुसार काम हुन्छ। त्योभन्दा बाहेक हामीले केही हस्तक्षेप गर्दैनौँ भनेर उहाँहरूलाई जानकारी गरायौँ। त्यसमा उहाँहरू सकारात्मक हुनुभयो,” उनले भने। सरकारले नेपाली फुटबलप्रति देखाएको चासोलाई समेत फिफाले सकारात्मक रूपमा लिएको उनको भनाइ छ।

एएफसी अवार्ड समारोहमा सहभागी हुन थाइल्यान्ड पुगेका मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका थिए। भेटका क्रममा मन्त्री पोखरेलले फिफा अध्यक्ष इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन्।

प्रकाशित मिति : ६ मंसिर २०८३, शनिबार  ९ : ०० बजे